भोटेकोसी बाढी प्रभावित क्षेत्रमा गगन थापाले जे देखे(भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई गल्ती ढाकछोप गर्न अर्को गल्ती नगर्न आग्रह गरेका छन् ।

भोटेकोसी बाढी प्रभावित क्षेत्रको भ्रमण गरी फर्केपछि सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी सभापति थापाले एउटा गल्ती ढाक्नलाई अर्को गल्ती नगर्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले सुरुङमा फसेकाहरुको उद्धार गर्न ढिलाइ भएको भन्दै अब गल्ती नगरी छिटो उद्धारको काम अघि बढाउन सरकारलाई आग्रह गरे ।

उनले सुरुङमा फसेका परिवारका सदस्यहरूले लगातार फोन आफूलाई आइरहेको बताए । उनले भने, ‘हामीले जुन बेलामा बाहिरको सहयोग लिनुपर्छ भनेर भन्यौँ, समयमा सहयोग माग्ने काम भएन, चुक्ने कुरा भइसक्यो। अब फेरि गल्तीलाई ढाकछोप गर्ने भन्दा पनि जे गर्न सकिन्छ वेस्ट गर्ने कोसिस गर्नुपर्छ। एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्नुहोला।’
त्यसक्रममा एकजना बालकले भनेको कुरा उनले उल्लेख गरेका छन् ।

सभापति थापाले भनेका छन्, ‘बीचमा एकजना बालकलाई उहाँहरूको गाडीमा राखेको मैले देखेको थिएँ। जब हामी गल्छी पुग्यौं, अब हामी आफ्नो घर जानलाई छुट्टिनको लागि भनेर, त्यो बालक त्यहाँ देखेँ मैले। र मलाई एकछिन कुरा गरौं भन्ने लाग्यो। मैले उसलाई बोकेँ। एकछिन कुरा गरेपछि मसँग ऊ झ्याम्मियो । तर ऊ जम्मा एउटा कुरा मात्र मलाई सोधिरहेको थियो, यो तोते बोलीमा— ’बाटो कहिले बन्छ? बाटो कहिले बन्छ?’ भनेर।

सभपति थापाले यस पटक प्रदेश सरकारले पनि फरक ढङ्गले काम गरेको आफूले महसुस गरेको बताएका छन् ।

उनले भने, ‘बहादुरसिंह लामा त्यहाँबाट निर्वाचित हुनुभएको प्रदेश सभाको सांसद हुनुहुन्छ। म गएको बेलामा उहाँ त्रिशूलीको अर्को पट्टि हुनुहुन्थ्यो, बट्टार पट्टि। त्यहाँ प्रदेश सरकारले आफू पैसा हालेर, सङ्घको सरकारको लाठो प्रयोग गरेर उहाँले तुइन राख्ने काम गर्दै हुनुहुन्थ्यो, अहिले त त्यो दुईवटै तुइन प्रयोगमा आइसकेको छ । पार्टीको तर्फबाट हामीले तल फिल्डमा गएर हामीले जे–जे कुरा देखेका छौं, यो सबै कुराको आधारमा यो जलवायुको विषयदेखि टनेलको विषयदेखि सरकारले गर्नुपर्ने, अरू नेक्स्ट फेजमा हामीले गर्ने लगायतका विषयहरूका सन्दर्भमा डिटेल रिपोर्ट बनाएर त्यही अनुसारले हामी फेरि त्यसलाई सार्वजनिक गर्ने नै छौं।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *