राहत सामग्री र जनशक्ति लिएर अष्ट्रेलियाको सी–१७ विमान नेपाल आउँदै

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि अष्ट्रेलिया सरकारले मानवीय सहायता र विपद् राहतका लागि सहयोग अघि बढाएको छ ।

अष्ट्रेलियाली रक्षा बलले अष्ट्रेलियाली विदेश मामिला तथा व्यापार विभागलाई सहयोग गर्दै रोयल अष्ट्रेलियन एयर फोर्सको सी–१७ ए ग्लोबमास्टर–३ विमानमार्फत मानवीय सहायता तथा विपद् राहत सामग्री, उपकरण र जनशक्ति नेपाल पठाउने भएको हो ।

सी–१७ ए विमान आगामी केही दिनभित्र अष्ट्रेलियाबाट नेपालका लागि प्रस्थान गर्ने नेपालस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ ।

अस्ट्रेलिया सरकारले विनाशकारी बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि जारी सहयोगअन्तर्गत थप ३० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाले उपलब्ध गराउन लागेको यो दोस्रो चरणको मानवीय सहायता हो।

अष्ट्रेलिया सरकारले यसअघि नै नेपालका बाढी प्रभावितका लागि ५० लाख डलर बराबरको मानवीय सहायता घोषणा गरिसकेको छ । बाढीपछि ४२ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *