काठमाडौं । भोटेकोसीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका ६४४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार ट्रेकिङ तथा ट्राभल कम्पनीहरूबाट प्राप्त विवरणमा १२७ नेपाली र ५१७ विदेशी नागरिक बेपत्ता भएको उल्लेख छ । बिहीबार दिउँसो १२ बजेसम्मको विवरणअनुसार उनीहरू सबैको अवस्था अझै यकिन हुन सकेको छैन ।
बेपत्ता हुने विदेशीमध्ये भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५ र जर्मनीका ८ जना रहेका छन् । यस्तै रुसका ८, लाटभियाका ६, दक्षिण अफ्रिकाका ६, जापान र न्युजिल्यान्डका ५–५ तथा फ्रान्सका ४ जना रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्थाबारे पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले खोजी तथा प्रमाणीकरणको काम गरिरहेका छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्राप्त विवरण क्रस–चेक भइरहेको छ ।
बाढीबाट भोटेकोसी र त्रिशूली नदी आसपासका चार जिल्लाका नदी तटीय क्षेत्र गम्भीर रूपमा प्रभावित भए पनि अन्य क्षेत्र भने प्रभावित नभएको बोर्डले स्पष्ट पारेको छ ।
घाइते तथा बाढीका कारण फसेका व्यक्तिको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि सबै प्रयास भइरहेको बोर्डले जनाएको छ ।
आपत्कालीन सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिनेछ ।
बोर्डले प्रभावित क्षेत्रका पर्यटक तथा यात्रुलाई शान्त रहन, आधिकारिक सूचना लिन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । पर्यटकको सुरक्षा पहिलो प्राथमिकता रहेको बोर्डले जनाएको छ।


