काठमाडाैँ । विश्वकै सबैभन्दा अग्लो भूभागमा बनेको चीनको छिङहाई–सिचाङ (तिब्बत) रेलमार्ग र त्यसकाे सेवासम्बन्धी विशेष वृत्तचित्र काठमाडाैँमा प्रदर्शन गरिएकाे छ ।
चीनको सिचाङमा अत्याधुनिक रेल सेवा सञ्चालन भएको २०औँ वार्षिकोत्सवका अवसरमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) नेपाली सेवाले निर्माण गरेकाे साे वृत्तचित्र काठमाडाैँस्थित रे टेलिभिजन एचडीले प्रदर्शन गरेकाे हो ।
साे अवसरमा रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेलले छिङहाई–सिचाङ रेलमार्ग रेलयात्राकाे अनुभव साझा गर्दै उक्त निर्माणका क्रममा चीनले पर्यावरण, वन्यजन्तु तथा स्थानीय संस्कृतिको संरक्षणमा विशेष ध्यान दिएको बताए । वृत्तचित्रले सिचाङको विगत र वर्तमान अवस्थाबारे बुझ्न महत्वपूर्ण सामग्री प्रस्तुत गरेको उनको भनाइ थियो ।
चीनका लागि पूर्व नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले विज्ञान र प्रविधिको सहायताले प्रकृतिसँग अनुकूल हुने गरी ठूलो पूर्वाधार निर्माण गर्न सकिन्छ भन्ने कुरा चीनले प्रमाणित गरेको बताए । श्रेष्ठले छिङहाई–सिचाङ रेलमार्गजस्तो जटिल परियोजनाबाट चीनको विकास निर्माणको अनुभव बुझ्न सकिने भन्दै वृत्तचित्र निर्माण तथा प्रदर्शनका लागि चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) नेपाली सेवा र रे टेलिभिजनलाई धन्यवाद दिए ।
सीआरआई नेपाली विभागका पूर्व भाषा विशेषज्ञ कृष्ण केसीले रेलमार्ग निर्माणका क्रममा कतिपय पश्चिमी विशेषज्ञले परियोजना पूरा हुन कठिन हुने धारणा व्यक्त गरे पनि चीनले दृढ इच्छाशक्ति, कडा मेहनत र दूरदर्शिताका साथ परियोजना सम्पन्न गरेको उल्लेख गरे । छिङहाई–सिचाङ रेलमार्गलाई चीनको प्राविधिक क्षमता र विकास दृष्टिकोणको महत्वपूर्ण उदाहरण भएकाे उनले बताए ।
चाइना मिडिया ग्रुप काठमाडौँ ब्यूरोकी प्रमुख चाङ युए (वर्षा) ले रेलमार्ग निर्माणका क्रममा आफू र आफ्ना सहकर्मीहरूले यस परियोजनासम्बन्धी समाचार तथा रिपोर्ट तयार गरेको स्मरण गरिन् । चीनको विकास चिनियाँ जनताको मात्र नभई विश्व समुदायका लागि पनि महत्वपूर्ण भएको उल्लेख गर्दै उनले नेपालले पनि पछिल्ला वर्षमा पूर्वाधार तथा विकास निर्माणमा उल्लेख्य प्रगति गरेको अनुभव सुनाइन् । छिङहाई–सिचाङ रेलमार्गसम्बन्धी वृत्तचित्रमार्फत नेपाली दर्शकले चीनको विकास निर्माणको अनुभव र कार्यशैली बुझ्न सक्ने उनको भनाइ थियो ।
न्यूज एजेन्सी नेपाल (नान) का अध्यक्ष सविन धमलाले छिङहाई–सिचाङ रेलमार्ग निर्माण आफैँमा विश्वलाई चकित पार्ने असाधारण विकास परियोजना भएको बताए । रेलमार्ग निर्माणका क्रममा तिब्बतको पर्यावरण तथा संस्कृति संरक्षण चुनौतीपूर्ण विषय रहे पनि त्यसलाई चीनले प्रभावकारी ढंगले सम्बोधन गरेको उनले उल्लेख गरे ।
रे टेलिभिजनका स्टेशन म्यानेजर रोशन केसीले वृत्तचित्रमार्फत चीनको पछिल्लो विकास निर्माण र सिचाङमा रेल सेवा सञ्चालनपछि स्थानीय जनजीवनमा परेको प्रभावबारे सहभागीले जानकारी हासिल गरेको बताए ।
वृत्तचित्र प्रदर्शन समारोहमा कूटनीतिज्ञ, नेपाल–चीन मैत्री तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, समाजसेवी, राजनीतिकर्मी, व्यवसायी, विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
समारोहले नेपालमा चीनको विकास अनुभव, पूर्वाधार निर्माण, वातावरणीय संरक्षण र नेपाल–चीन जनस्तरीय सम्बन्धका विषयमा थप संवाद तथा सहकार्यको सम्भावना उजागर गरेको आयोजकले जनाएको छ ।








