‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श

काठमाडौँ । बौद्ध विद्वानहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा विभिन्न तर्क प्रस्तुत गरेका छन् । नेपाल समाज मिडिया प्रालिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बौद्ध विद्वानहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा विभिन्न तर्क प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा विशेष अतिथि नामग्याल रिन्पोछेले भगवान बुद्धले दिएको मार्ग भनेको ध्यान गरेर मनलाई शान्त र शुद्ध पार्ने माध्यम नै धर्म भएको बताए । उनले मानिसको मनलाई शान्ति बनाउनु नै धर्म भएको बताए । उनले अहिलेको जीवनलाई हेरेर मात्र काम गरेमा धर्म नहुने भन्दै आफूले पछिको जीवनलाई हेरेर काम गर्नुपर्ने बताए । उनले पछिको जीवन पनि राम्रो होस् भनेर काम गर्नु नै धर्मको भएको कुरा भगवान बुद्धले बताउनुभएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे थुप्तेन जिन्पाले ‘चेतना, मृत्यु र पुनर्जन्मसम्बन्धी बौद्ध अवधारणा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले बौद्ध दर्शनमा चेतनाको प्रकृति, यसको कारण–प्रत्यय र मानसिक सन्ततिको निरन्तरताका आधारमा पूर्वजन्म तथा पुनर्जन्मको व्याख्या गरिएको उल्लेख गरे । उनले चेतनाको उत्पत्तिका लागि आलम्बनप्रत्यय, अधिपतिप्रत्यय र अनन्तरप्रत्ययको विशेष भूमिका रहेको उल्लेख गरे ।

उनले जन्मजात प्रतिभा, बुद्धिमत्ता, रुचि तथा मानसिक प्रवृत्तिमा देखिने भिन्नतालाई पनि पूर्ववर्ती मानसिक सन्तति र अभ्याससँग जोडेर हेर्ने उल्लेख गरे । उनले मृत्युको क्षणपछि पनि मानसिक सन्ततिको कारणगत निरन्तरता कायम रहन सक्ने तर्कबाट पुनर्जन्मको व्याख्या गरिएको बताए । उनले बौद्ध दृष्टिकोणमा मृत्यु चेतनाको पूर्ण विनाश नभई, आवश्यक कर्म तथा अन्य कारण–प्रत्यय विद्यमान रहेमा अर्को मानसिक सन्ततिको सम्बन्ध स्थापित हुने प्रक्रिया भएको बताए ।

कार्यक्रममा नेपाल बौद्ध महासंघका पूर्वअध्यक्ष आचार्य नुर्बु शेर्पाले ‘मनको प्रकृति र पुनर्जन्मसम्बन्धी बौद्ध दृष्टिकोण’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले बौद्ध दर्शनले पुनर्जन्मलाई नित्य र अपरिवर्तनशील आत्माको स्थानान्तरणका रूपमा नभई कर्मद्वारा प्रभावित चेतनाको निरन्तर प्रवाहका रूपमा व्याख्या गर्ने गरेको उल्लेख गरे । उनले पुनर्जन्म र कर्मफलका विषयमा बौद्ध, वैदिक तथा भौतिकवादी धाराबीच रहेको भिन्नतालाई व्याख्या गरे ।

उनले भौतिकवादी चार्वाक वा लोकायत दर्शनले पुनर्जन्म र कर्मफललाई अस्वीकार गर्ने र शरीर नष्ट भएपछि चेतनाको पनि अन्त्य हुने भएकाले मानिसको एकै जन्म हुने भौतिकवादी धारणा रहेको उल्ले गरे । यस दृष्टिकोणले मानिसको सुख–दुःख, धनी–गरिब वा आयुको अन्तरलाई पूर्वजन्मको कर्मसँग जोड्न अस्वीकार गर्ने बताए ।

बौद्ध परम्परामा कर्मलाई पुनर्जन्मसँग जोडिएको महत्वपूर्ण आधार मानिने भन्दै उनले असल कर्मले सुखद परिणाम र खराब कर्मले दुःखद परिणाम निम्त्याउने मान्यता रहेको बताए । उनले कर्मअनुसार प्राणीले यी विभिन्न लोकमा जन्म लिने र कर्मको प्रभावअनुसार संसारको चक्रमा घुमिरहने मान्यता रहेको उल्लेख गरे ।

कार्यक्रममा खेन्पो जामयाङ लोड्रोले ‘मन, कर्म र पुनर्जन्म’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले मन, कर्म र पुनर्जन्मबीचको सम्बन्ध तथा बौद्ध दर्शनमा यसको महत्वबारे कार्यपत्रमार्फत धारणा प्रस्तुत गरे ।

कार्यक्रममा आचार्य छोपाल ग्याछोले ‘भार्दो र चेतनाको निरन्तरता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले भार्दोको अवधारणालाई जीवन, मृत्यु र पुनर्जन्मको प्रक्रियासँग जोडेर व्याख्या गरिएको उल्लेख गरे । भार्दोको अवधारणा कर्म, चेतना र पुनर्जन्मसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको उनले बताए ।

त्यस्तै भुटानबाट बौद्धविद्वान डा. कर्मा फुन्छोकले भर्चुअल माध्यमबाट ‘मन, कर्म र पुनर्जन्मसम्बन्धी हाम्रा धारणाको पुनःमुल्याङ्कनः २१ औं शताब्दीमा बौद्ध चिन्तन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल समाजका सल्लाहकार एवं बौद्ध विद्वान लोचवा पुण्यप्रसाद पराजुलीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

नेपाल बौद्ध महासंघका प्रमुख कार्यकारी अधिकृत आचार्य सार्की शेर्पाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाल समाज मिडिया प्रालिका अध्यक्ष ध्रुव पौडेलले आगामी दिनमा समाजवाद र बौद्ध विचार विषयमा कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *