मुलडेको मोहनी

-अगनसिंह थापा

ओहो ! आँखाको अँगालोमा नअटाउने हिउँको गलैँचा ! दोबाटोको शीर्षस्थल मुलडे भ्युपार्क (३६३८ मिटर) परिसर हिउँ ओढेर मुसुमुसु हाँसिरहेको छ । म पनि मुस्कुराउँछु । यतिबेला हिमालबाट हिउँ पैँचो लिएर हिमवर्षाले रोचक नृत्य गरेको छ यहाँ । यसको न्यानो स्पर्शले रोमाञ्चित हुन्छु । घान्द्रुकस्थित यो लेकाली आँगनमा हिमाली हार्दिकता छताछुल्ल पोखिएको छ । उमङ्ग र उत्साह ह्वात्तै चुलिएको छ– हिमचुचुराझैँ ।

मिर्मिरे बिहानीको मनोरम वातावरण । सिर्सिर चलेको स्वच्छ–शीतल हावा । कोलाहलबाट टाढाको निर्जन र शान्त ठाउँ । चौतर्फी फिँजारिएको हिउँ टेक्दै हिँड्दा चरपचरपको ध्वनि मात्रै अस्तित्वमा छ । वरपरका दृश्य हेर्न घाम उदाउँदै छ । हामी त्यही नवजात किरण पर्खँदै आँखा पूर्वी क्षितिजतिर हुत्याइरहेका छौँ । माछापुच्छरे मास्तिरबाट सुनौलो घाम उदायो । त्यसका रश्मिले हिमचुचुरालाई पालैपालो चुम्दै जाँदा पर्यटकका मुहारमा हर्षको रङ पोतिएको छ । वातावरण मानव–उल्लासमा जमजमाइरहेछ ।

चमक थपिएका सेता हिमशृङ्खला चियाउन थाल्छु । सुदूरपूर्वमा गणेश हिमाल चौथो । त्यसपछि बुद्ध हिमाल, हिमालचुली र ङादी चुली । नजिकै हाम्रै स्वागतमा उभिएका छन्– लमजुङ हिमाल, मार्दी हिमाल, अन्नपूर्ण दोस्रो, माछापुच्छरे र खाल्डोमा गन्धर्व चुली । उत्तरतिर आँखा सार्दा अन्नपूर्ण तेस्रोले छड्के आँखा लगाउँदै त छैन हिउँकै बक्खुमा सजिएकी हिउँचुलीलाई ? हिमाल भएर हर्षले अग्लिँदै छ मेरो मन । हनुमानले झैँ भीमकाय छाती फुलाएको छ अटल अन्नपूर्ण दक्षिणले ।

मितझैँ मिलेर बसेका छन्–अन्नपूर्ण पहिलो र अन्नपूर्ण फाङ (बाह्रशिखा)को जोडी । अनि नीलगिरि उत्तर र नीलगिरि दक्षिण । दौँतरीझैँ देखिने यी जोडीले मलाई अतीतको मित लगाउने मौलिक संस्कारमा पुर्याए । दुई आत्माबीचको आत्मीयता, घनिष्टता र पवित्रताको आदर्श नमुना थियो त्यो मितेरी साइनो– स्वार्थ र सङ्कीर्णताको सतहभन्दा धेरै माथि उठेको ।

हिमचुचुराको आस्वाद लिने क्रममा आँखा उत्तर–पश्चिमतिर घुमाउँछु । सबैभन्दा अग्लो धौलागिरि पहिलो (८१६७ मिटर) शिरको शोभा ढाकाटोपीझैँ बसेको छ । ऊ रत्तिभर हलचल गर्दैन, तर मेरो मन भने स्थिर हुन सकिरहेको छैन । भकाभक उत्तेजना भर्दै छ लामबद्ध हिमशृङ्खलाले । दायाँतिरको टुकुचे चुली चमकले ध्यान तान्छ । बायाँतिर क्रमशः धौलागिरि दोस्रो, तेस्रो, पाँचौँ, चौथो, जिर्बाङ्ग चुली, धौलागिरि छैटौँ र अन्तिममा गुर्जा हिमाल हर्षित मुद्रामा नारिएर उभिएका छन् । मानौँ मैदानमा चण्डी नाच्न आतुर किराँत तरुनीतन्नेरी उभिएका हुन् ।

पूर्वदेखि उत्तर–पश्चिमसम्मका दुई दर्जनभन्दा बढी श्वेत हिमशृङ्खलाको यो अपूर्व दृश्य ! सुनारको आरनमा सुन पग्लिएझैँ हिउँका बाक्ला पहिरनमा चम्किएका हिमगङ्गाको रापले मलाई पगालेको छ । यहाँबाट सबैभन्दा नजिक र भव्य अन्नपूर्ण दक्षिण देखिएको छ । त्यसपछि ठूला देखिने हिमाल हुन्– हिउँचुली, माछापुच्छरे, धौलागिरि पहिलो र टुकुचे । नतमस्तक हुन पुग्छु म । यी हिमाललाई क्यामराको पर्दामा सजाऊँ कि मनको क्यानभासमा ? मुलडे मनमोहक दृश्यावलोकनको उत्तेजक थलो हो । शरीरमा प्रशस्त डोपामाइन पैदा गराउन सक्ने शक्ति भएको । दृष्टिभरि फैलिएका अलौकिक भूदृश्य हेरेर असीम आनन्द लिन सकिन्छ, चित्त शान्त पार्न सकिन्छ । हिमालदेखि तराईसम्मका मनोरम ठाउँ हेर्दा नवीन साम्राज्य अथवा स्वर्गको एक छेउमा आइपुगेको अनुभूति हुन्छ । जसलाई देखेर स्वर्गकी अप्सरा पनि ईष्र्या गर्थिन् होलिन् ।

मुलडेतल्तिरको अद्भुत भूदृश्य नियाल्छु । आँखाले नभ्याउने दुरीसम्म दृष्टि फैलाउँछु । पूर्वतिर काठमाडौँसम्म तानिएको छ लम्बेतान उपत्यका । गोर्खा, लमजुङ, तनहुँका पहाडी भूभाग बयली खेल्दै चितवनसम्मका समथर फाँटमा बगेका छन्– फेवातालको छालझैँ । कास्कीका पोखरा उपत्यका, फेवाताल र शान्ति स्तूपको सुन्दर क्यानभास पनि यतै देखिन्छ ।

पश्चिमतिर दगुर्छ दृष्टि । विश्वप्रसिद्ध अन्नपूर्ण सेन्चुरी पदमार्गअन्तर्गत म्याग्दीका घोडेपानी–पुनहिल, बेनी, बागलुङ, ढोरपाटन, मोहारेडाँडा, दरबाङसम्मका डाँडापाखा हुँदै रुकुम, रोल्पा र डोल्पासम्म । दक्षिणपट्टि स्याङ्जा, पर्वत, लुम्बिनी, नवलपरासी र बुटवल । उत्तरी दिशामा नीलगिरिमुन्तिर मुस्ताङको याकखर्क र जोमसोम । फरक–फरक आकृतिका यी बान्किला दृश्य हेर्दा काल्पनिक लोकमै आइपुगेझैँ लाग्छ ।

खोल्साखोल्सीमा निःसृत कलकल ध्वनि गुन्जाउँदै नदीनाला बगेका छन् । तिनको कालिगडीलाई कसले भेट्न सक्छ । उत्तरमा धौलागिरिमुन्तिर कालीगण्डकी र मोदीखोलाले बनाएका कलात्मक भूआकृति कुनै प्रसिद्ध कलाकारको क्यानभासभन्दा उत्कृष्ट देखिन्छन् । प्रकृति र संस्कृतिको विविधताले भरिएको सजीव दृश्य देखिन्छ मुलडेबाट । हिमाली खण्डदेखि तराईसम्मका गाउँघर, मठमन्दिर, खेतबारी, बालीनाली, पाखापखेरा, वनजङ्गल, पोखरीकुण्ड, छाँगाछहरा, भन्ज्याङ, देउराली, टार र बेँसीका सजिसजाउ बान्कीले मोहनी लगाउँछन् ।

माछा चिप्लेझैँ थाहै नपाई दुई घण्टा चिप्लिएछ हामीबाट । दुर्लभ दृश्य हेरेर अझै अघाएका छैनौँ । हुन त दुई घण्टा जीवनको ज्यादै थोरै समय हो, तर मनमा गहिरो छाप बसाल्न पर्याप्त हुँदोरहेछ । समयको अस्तित्व र महत्व त्यसको लम्बाइसँग होइन, गहिराइसँग मापन हुन्छ ।

अब मुन्तिरको होटल पछ्याउँदै झर्दै छौँ । भिरालो पाखाका गुराँसका डालीडाली फुलेका छन्– सेताम्मे हिउँफूलहरू । तीन प्रजातिका रहेछन् यहाँका गुराँस । बाटो मात्र होइन, खोल्साखोल्सी, रुखबिरुवा र पाखापखेरासमेत हिउँफूलले पुरिएका छन् । तर ओरालो झर्नु सजिलो कहाँ छ र ! पग्लिएको हिउँले बाटो चिप्लो बनाएर हामीलाई नै हाँक दिएको छ । होसियारीपूर्वक पाइला चाल्न थाल्दाथाल्दै कहिले सुलुसुलु बग्दै खोल्साको हिउँमा जाकिएका छौँ, कहिले बुट्यानलाई अँगालो मार्न पुगेका छौँ । घुप्लुक्क पर्ला जस्तो गरी हाँस्दाहाँस्दै आफैँ पछारिएको पत्तै हुँदैन । यस्तै हाँसोमय वातावरणमा होटल पुगियो । सामान्य अवस्थामा दस मिनेट लाग्ने बाटो छिचोल्न बीस मिनेट लागेछ ।

नास्ता खाएर ताडापानीतिर निस्कँदा पनि हिमालले हामीलाई पछ्याउन छोडेका रहेनछन् । दोबाटोस्थित होटल माउन्ट लक्कीको आँगनमा निस्केर बायाँ, उत्तरतिर हेर्छु । गन्धर्व चुली, हिउँचुली, अन्नपूर्ण दक्षिण, अन्नपूर्ण पहिलो र अन्नपूर्ण फाङ (बाह्रशिखा), टुकुचे चुली हुँदै धौलागिरि पहिलोसम्मको लस्कर लागेको छ । बिदाइका हात हल्लाउन दायाँतिर, पूर्वतिर माछापुच्छरे, त्यसपछि मार्दी हिमाल, लमजुङ, ङादी चुली, हिमालचुली, बुद्ध हिमाल र सुदूरपूर्वको गणेश हिमाल चौथो अझै आँखै नझिम्काई हामीलाई हेरिरहेका छन् ।

यहाँ आइपुग्न पदयात्रीले फरक–फरक चार पदमार्ग अपनाउन सक्छन् । पोखराबाट पहिलो दिन किम्चे हुँदै घान्द्रुक, दोस्रो दिन ताडापानी र तेस्रो दिन इसारु हुँदै दोबाटो पुग्न सकिन्छ । अर्को मार्गमा पोखरा–बिरेठाटी हुँदै उल्लेरी, दोस्रो दिन घोडेपानी–पुनहिल र तेस्रो दिन थाप्लाडाँडा–देउराली हुँदै दोबाटो पुगिन्छ ।

छोम्रोङबाट पनि नयाँ खोलिएको पदमार्ग पछ्याउँदै यहाँ झर्न सकिन्छ । पहिलो दिन छोम्रोङ–त्रिभुवनपार्क, दोस्रो दिन पौनेखर्क र तेस्रो दिन ‘हिडन लेक’ जाउआउ गरेर दोबाटो पुगिन्छ । अन्नपूर्ण परिक्रमाबाट ओर्लेका पर्यटक तातोपानीबाट पाउदार हुँदै एकै दिनमा पनि दोबाटो आइपुग्छन् । प्रकृतिवाणी सुनिने यस्तो ठाउँमा पाउ पर्दा पनि ध्यानस्थको आनन्दानुभूति हुन्छ । जुनसुकै याममा आए पनि ताजा महसुस हुन्छ । जतिपल्ट हेरे पनि यहाँबाट देखिने दृश्य उत्तिकै आकर्षक र नयाँ लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *