मुलुक निर्वाचनपछि लफङ्गाहरूबाट शासित हुन पुगेको टिप्पणी पुष्टि भयोः घनश्याम भुसाल

काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले मुलुक पहिलेदेखि नै नालायकहरूबाट शासित भएको भएपनि निर्वाचनपछि लफङ्गाहरूबाट शासित हुन पुगेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने?’ विषयक राष्ट्रिय बहसमा भुसालले यो अभिव्यक्ति आफूले निर्वाचन सम्पन्न हुँदा दिएको भएपनि सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिले त्यसको पुष्टि गरेको बताएका हुन् ।

उनले भने, ‘मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष के निकालेँ भने मुलुक नालायकहरुबाट त शासित छँदै थियो, अब लफंगाहरूबाट शासित हुने भयो भनेर भिडियो नै राखेको थिएँ। तर त्यसमा गलत साबित हुन पाउँ भनेर पनि भनेको थिएँ। तर यहाँ साढे चार महिना जति बित्यो। आज जे देखिएको छ त्यसले अझ डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरू घट्ने जोखिम छ।’

उनले मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले समाजमा अझै डलाग्दा राजनीतिक दुर्घटनाहरू बढ्ने जोखिम बढेको बताए ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन एमाले महासचिव मदन भण्डारीले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जनताको बहुदलीय जनवादको विकास गरी नयाँ राजनीतिक बाटो अघि बढाएको बताए । उनले जनताको बहुदलीय जनवादकै आधारमा तीन दशकसम्म नेपालको कम्युनिष्ट आन्दोलनलाई शीर्ष भूमिकामा राख्न सफल भएको दाबी गरे ।

त्यसैगरी कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूका फरक–फरक पहल र गतिविधिलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बताए । उनले लोकतन्त्रका पक्षमा वामपन्थी शक्तिहरूले गर्दै आएका प्रयासलाई एकताबद्ध गर्न सके मात्रै त्यसले ठोस परिणाम दिन सक्ने बताए । उनले विगतमा वामपन्थी शक्तिका पहल र गतिविधि अलग–अलग हुँदा त्यसको परिणाम अपेक्षाअनुसार आउन नसकेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *