काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाविधेशन जबर्जस्तीरुपमा गरेर धेरै साथीलाई बाहिर राखिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय भेलाको समापनका क्रममा देउवाले जबर्जस्ती विशेष महाधिवेशन गरेर धेरै साथीहरुलाई बाहिर राखिएको बताएका हुन् ।
उनले त्यसविरुद्ध आफूहरु अदालत गएको र न्याय पाउने विश्वास व्यक्त गरे । उनले भने, ‘विशेष अधिवेशनलाई मैले मानेको थिइनँ । सबैको सहमतिमा विशेष महाधिवेशन गरौँ भनेको थिएँ । तर जबर्जस्ती गरेर धेरै साथीलाई बाहिर राखियो । अदालत गएका छौँ । मलाई विश्वास छ-अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्यसअघि मैले धेरै अदालतको विषयमा धेरै बोल्नु छैन। अदालतलाई विश्वास गर्दै अदालतको कुरा मान्छु।’
फरक प्रसंगमा देउवाले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले आफू हिन्दू भएको र अन्य धर्मलाई सम्मान गर्ने बताए ।
उनले भने, ‘साथीले लेखेर दिनुभएको छ । सनातन हिन्दूका बारेमा केही बोलिदिनुपर्यो भनेर । म हिन्दू हुँ । ब्रतबन्ध पनि हिन्दू संस्कार अनुसार भएको हो । मैले बिहे पनि गुहेश्वरीमा हिन्दू धर्मअनुसार गरेको हुँ । नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हुँ । म हिन्दू हुँ, हिन्दू, पशुपति जान्छु, पूजा गर्छु । म हिन्दू हुँ ।’
देउवाले विमानस्थलदेखि भेलासम्म आएर सद्भाव राख्नेहरूलाई आफूले कहिल्यै नबिर्सने बताए ।
