स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कानुन व्यवसायीलाई एकजुट हुन बार अध्यक्षको आह्वान

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले न्यायालय र बारले जनताका अधिकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

विशेष अदालत बार एशोसिएसनको ‘बेवसाइड सार्वजनिक तथा विशेष बार जर्नल प्रकाशन’ कार्यक्रममा उनले जनतालाई अधिकार सुनिश्चित गर्न केन्द्रित भई न्यायापालिका र बारलाई समुन्नत रूपमा विकसित गर्नुपर्ने बताए ।

“न्यायापालिका र बारको उद्देश्य नागरिकका अधिकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नु हो”, न्यायाधीश ढुङ्गानाले भने, “न्यायापालिका र बारलाई समुन्नत रूपमा विकास गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।”

भ्रष्टाचार, सम्पति शुद्धीकरण, बौद्धिक सम्पतिसहित बहुआयामिक क्षेत्रका लेख प्रकाशनमा ल्याउनु बौद्धिक र रचनात्मक काम भएको उल्लेख गर्दै उनले वर्तमान संविधानले नागरिकको हकअधिकार संरक्षण गर्ने भएकाले यसको रक्षा गर्नु न्यायालय र कानुन व्यवसायीको जिम्मेवारी तथा कर्तव्य भएको बताए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले संविधानको पालकहरूले न्यायापालिका स्वतन्त्रता र निष्पक्ष हुनुपर्नेमा ध्यान दिई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा बारको जिम्मेवारी, चुनौती थपिएको बताउँदै न्यायापालिका अनुदार बन्न नहुने उल्लेख गरे ।

अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सम्पूर्ण कानुन व्यवसायीलाई एकजुट हुन आह्वानसमेत गरे । उनले विशेष अदालतमा बार एकाइ गठन भएसँगै नागरिकलाई काम कारबाही गर्न सहज भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *