कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैनः गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले संसदीय समितिमा सुरक्षा निकायका प्रमुखलाई गरिएको व्यहारप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार संसदको कानुन समितिको बैठकमा गृहमन्त्री गुरुङले गत बुधबार सार्वजनिक लेखा समितिको बैठकमा रास्वपाका सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गरेको व्यवहारप्रति आपत्ति जनाएका हुन् ।

उनले उजुरीका आधारमा सांसदले न्यायाधीश बन्न नपाउने बताए । उनले भने, ‘मेरो उपस्थिति नरहेको बैठकमा हाम्रो सचिवज्यू र प्रहरी प्रमुखज्यूहरूलाई जुन व्यवहार गरियो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड । वि आर नट ह्याप्पी। कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन ।’

लेखा समितिको बुधबारको बैठकमा सांसद सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्ने उजुरीमाथिको छलफल गर्ने क्रममा गृहसचिव श्रेष्ठ र प्रहरी महानिरीक्षक कार्कीमाथि जथाभावी बोलेका थिए ।

उनले प्रहरी प्रमुखलाई बर्खास्त गरी फौजदारी मुद्दामा अनुसन्धान गर्नुपर्ने बताएका थिए । सांसद सुनारको अभिव्यक्तिप्रति प्रहरी प्रमुख दानबहादुर कार्की असन्तुष्टि जनाएका थिए । सुनाको यस्तो अभिव्यक्तिको अहिले सर्वत्र आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *