काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निवाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको विषयमा सत्यता नभएको बताएका छन् ।
संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा महानिरीक्षक कार्कीले भने, ‘निर्वाचन प्रहरीले स्वयं वा आफ्नै समूहबाट मापदण्डअनुसारको पोसाक खरिद गरेको वा र सो रकम उनीहरूकै बैङ्क खातामा सोझै भुक्तानी भएको हुँदा यसमा नेपाल प्रहरीको कुनै तहको संलग्नता हुने विषय भएन ।’
उनले संसदीय समितिमा बोलाएर आफूविरुद्ध अनेक आरोप लगाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘आफ्नो निष्ठापूर्वक काम गरिरहेको मान्छेलाई यहाँ ल्याएर जे मन लाग्यो त्यही भनेको छ । जे मन लाग्यो त्यही भन्ने स्थान त यो होइन होला नि ? कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि ? प्रहरीलाई घिसार्छु भन्नेहरुलाई पनि बडा मिठो कुरा गरेको यहाँ सुन्न पाइयो। प्रहरीलाई घिसार्छु भन्ने कुन किसिमको पासन युगिन कुन किसिमको मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ ?’
उनले काम गर्नभन्दा सजिलो गाली गलौज हुँदो रहेछ भन्दै सांसद सुनारलाई व्यङ्ग्यसमेत गरेका छन्। उनले भने, ‘काम गर्न भन्दा सजिलोचाहिँ क्रान्ति गर्न हुन्छ कि क्या हो। सजिलोचाहिँ गाली गलौज गर्नै रहेछ मन्चमा बसेर। त्यो सिक्न पाए हुन्थ्यो। हामी पनि पुलिस मात्रै त होइन, नागरिक पनि हो। पुलिसको रुपमा त यो छुचो पेशा हो। यसमा सम्मानको अपेक्षा गर्नु नै भुल हुन्छ।’
]उनले जेनजी आन्दोलनपछि प्रहरीले गरेको दुःखकाबारेका कसैले नसोधेको बरु अहिले अनेक आरोप लगाइएको भन्दै आक्रोश पोखे । उनले भने, ‘चुनाव हुनु २० दिन पहिले दाताले दिएका सवारी पाएर चुनाव गराएको हो। त्यो छ महिनासम्म तैँले कसरी गाडी ल्याएर चलाइस्, गस्ती पट्रोल कसरी गरेर शान्ति सुरक्षाको प्रत्याभूति गरेको छस् भनेर त कसैले प्रश्न सोधेन । भगवानले आएर चलाएका थिएनन् नि। हामीले मागेर चलाएको हो ।’
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गत निर्वाचनमा नेपाल प्रहरीले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका थिए । उनले प्रहरी महानिरीक्षक (आईजीपी) माथि नै प्रश्न उठिसकेको अवस्थामा उनलाई पदमै राखेर निष्पक्ष छानबिन हुन नसक्ने बताए ।
उनले तत्काल छानबिन समिति गठन गरी आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्ने माग गरेका थिए । सांसद सुनारले प्रहरीको बर्दीमै बसेर आफूमाथि लागेको आरोपको छानबिन गर्न नमिल्ने भन्दै फौजदारी अभियोगअन्तर्गत अनुसन्धान गर्नुपर्ने माग गरेका थिए ।
उनले भनेका थिए,‘बर्दी लाएर छानबिन हुँदैन । बर्दी लाएर बसेर ‘ल, मलाई छानबिन गर’ भन्न पाइँदैन । जसरी अरूमाथि प्रहरीले छानबिन गर्छ, त्यसरी नै यो मुद्दामा पनि गर्नुपर्छ । फौजदारी अभियोगमा छानबिन हुनुपर्छ ।’
गत फागुन २१ गते सम्पन्न निर्वाचनका लागि निर्वाचन प्रहरीको पोसाक खरिदमा करिब ६० करोड रुपैयाँ हिनामिना भएको दाबी गर्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो । सोही विषयमा समितिमा छलफल भइरहेका बेला सांसद सुनारले तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् । आफू बोलेपछि सांसद सुनार बैठकबाट बाहिरिएका थिए । त्यसपछि आईजीपी कार्की बोलेका हुन् ।
