काठमाडौँ । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्सबी इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतीक बुढाथोकी पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो । बुढाथोकीले ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ ।
जापान पठाउने आश्वासन दिएर रकम लिएपछि प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा विभागले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
