बराबरी देखाउने खालको सतही स्क्रिप्टमा हरेक देशका राजदूत बोलाउँदै फोटो खिच्दै चाहिँ नगरे हुन्थ्यो

-नारायण गाउँले ।

‘अन्ततः झुकेको, ईगोको चश्मा फुटेको या बल्ल ठाउँमा आएको’ भन्ने शैलीका पोस्टहरू पढियो । तर एउटा नागरिकका रूपमा यी तस्बिर देखेर मजस्ता केहीलाई खुसी पनि लागेको होला । राजदूतलाई नभेट्ने, एकलाएक्लै नभेट्ने, प्रधानमन्त्रीबाहेक अरूलाई नभेट्ने या फोटो खिच्न सामूहिक भेटमात्रै ’दिने’ खालको अपरिपक्व र जीर्ण कूटनैतिक कदमको विपक्षमा लेखिएको थियो । आज त्यसमा परिवर्तन आउँदा पनि विपक्षमा उभिन मन लागेन । हरेक देशसँग अलग मुद्दा, सम्बन्ध र आवश्यकता हुन्छन् । भारत र चीनसँग हाम्रा अलग मुद्दा छन्, पाकिस्तान या अमेरिकासँग फरक इस्यु छन् । कसैसँग दिनहुँ इन्गेजमेन्ट आवश्यक हुन्छ, कसैसँग सामान्य शिष्टाचार र मित्रवत् सम्बन्धमात्रै पनि पर्याप्त हुन्छ । सीमादेखि ऊर्जा र कनेक्टिभिटीसम्मका द्विपक्षीय मुद्दामा भारतसँग सम्भव भएसम्म हरेक तह र चरणमा संवाद आवश्यक छ ।

भारतले यो सरकार बन्नेबित्तिकै ’गुड़ जेस्चर’ देखाएको थियो । प्रधानमन्त्रीले नै विशेष दूत बनाएर विदेश सचिवलाई पठाउन खोजेको समाचार आएको थियो । त्यो द्विपक्षीय संवाद र विश्वास निर्माणको राम्रो सुरुवात बन्न सक्थ्यो । दूतलाई त पौराणिक कालमा पनि अर्को दरबारसम्म सहज पहुँच र सुरक्षा हुन्थ्यो ! तिनले सोझै राजासम्म सन्देश पुर्याउँथे । आधुनिक राजदूतहरूको व्यवस्था पनि त्यसैको विकास नै हो ।

हामीले अनावश्यक ईगो र एटिट्युडमात्रै देखाएनौँ, मिडियाबाजी गरेरै हामी जो कोहीलाई गन्दैनौँ भन्ने खालको प्रचार गर्यौँ । मोदीले सरकारको कुनै पदमा नरहेका रवि लामिछानेलाई भव्य स्वागत गरेर अलिकति आधुनिक कूटनीतिको उदाहरण हामीलाई देखाइदिएका थिए ।

बालेन डिप्लोमेसी पढेर, लामो समय राजकाज चलाएर या सिस्टमको अनुभव लिएर आएका राजनीतिज्ञ होइनन् । त्यसैले यस्ता कमजोरी यदि सच्चिँदै जान्छन् भने त्यसलाई खिसिट्यूरी गर्नुभन्दा सकारात्मक रूपमा प्रेरित गर्नु राम्रो हुन्छ । भारतीय राजदूतसँग बोल्नु, भेट्नु या द्विपक्षीय संवाद गर्नु ‘लम्पसार पर्नु’ हो भन्ने हाम्रो वामपन्थी न्यारेटिभले गर्दा धेरै कति धेरै मुद्दा यत्तिकै बाँकी रहेका हुन् । बालेन पनि सुरुमा त्यसैमा अड्किए ।

देशभित्र होस् या बाहिर, संवाद र समन्वय बालेनको सबैभन्दा कमजोर पक्ष हो । यदि यही कमजोरीमा उनले सुधारको प्रयास गर्दै छन् भने त्यसलाई स्वागत गर्नुपर्छ । अब सबैलाई खुसी बनाउने या बराबरी देखाउने खालको सतही स्क्रिप्टमा हरेक देशका राजदूत बोलाउँदै फोटो खिच्दै चाहिँ नगरे हुन्थ्यो । आवश्यक पर्दाचाहिँ पछि नहटे हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *