इन्फान्टिनोलाई हटाउने अभियानको फिफाद्वारा कडा आलोचना

बीबीसी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर बनाउने उद्देश्यले ‘समन्वित र निरन्तर प्रयास’ भइरहेको भन्दै त्यसको कडा आलोचना गरेको छ।

फिफाको यस्तो प्रतिक्रिया डेली टेलिग्राफमा प्रकाशित एक रिपोर्टपछि आएको हो। रिपोर्टमा इन्फान्टिनो यूईएफएका महासचिव रहेका बेला एक महिलासँग प्रेम सम्बन्ध रहेको र ती महिलाले यूईएफएबाट बिदाइ रकम पाएको दाबी गरिएको थियो।

तर फिफाका प्रवक्ताले उक्त दाबीलाई इन्फान्टिनोले “कडा रूपमा अस्वीकार” गरेको र ती आरोपहरू ‘पूर्ण रूपमा असत्य’ रहेको बताएका छन्।

फिफाले जारी गरेको विज्ञप्तिमा ‘आधारहीन दाबी र स्पष्ट रूपमा झूटा आरोप’प्रति आपत्ति जनाउँदै अनुमान र संकेतलाई तथ्यका रूपमा प्रस्तुत गर्न नहुने जनाएको छ।

इन्फान्टिनोले अघि सारेको तर पछि स्थगित भएको फिफा फर्वार्ड इन्टरप्राइज प्रस्तावलाई लिएर उनीमाथि यूईएफए तथा विभिन्न युरोपेली फुटबल संघहरूको दबाब बढ्दै गएको छ।

पिई योजनाअन्तर्गत व्यावसायिक तथा टिकट बिक्रीसम्बन्धी अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गर्ने र त्यसको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने प्रस्ताव गरिएको थियो।

यूईएफएले इन्फान्टिनोमाथिको विश्वास गुमाएको बताइसकेको छ। नर्वेजियन फुटबल महासंघकी अध्यक्ष लिसे क्लाभेनेसले शुक्रबार इन्फान्टिनोलाई पदबाट राजीनामा दिनसमेत आग्रह गरेकी छन्।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफाका कार्यक्रम बहिष्कार गर्ने आफ्नो चेतावनी अझै कायम रहेको जनाएको छ।  योजना पुनः अघि नबढ्ने सुनिश्चितता आफूहरूले प्राप्त नगरेको पनि यूईएफएको भनाइ छ।
फिफाले भने आफ्ना अध्यक्ष लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएको र सदस्य संघहरूको म्यान्डेटअनुसार जिम्मेवारी सम्हालिरहेको जनाएको छ।

‘केही पक्षले फिफा र यसका अध्यक्षलाई कमजोर बनाउने उद्देश्यले समन्वित र निरन्तर प्रयास गरिरहेका छन् भन्ने कुरा झन् स्पष्ट हुँदै गएको छ,’ फिफाले विज्ञप्तिमा भनेको छ।

फिफाले सदस्य संघहरूको समर्थन नपाएका व्यक्तिहरूले संस्थाको स्थापित लोकतान्त्रिक प्रक्रियाबाट हासिल गर्न नसक्ने कुरा आरोप, संकेत वा गलत सूचनामार्फत हासिल गर्ने प्रयास गर्न नहुनेसमेत जनाएको छ।

इन्फान्टिनोको विरोध मुख्यतः युरोपबाट भइरहेको छ। यद्यपि, मेक्सिको फुटबल महासंघले आफ्नो क्षेत्रीय निकाय कनकाकाफको धारणा विपरीत इन्फान्टिनोको समर्थन गरेको छ।

दक्षिण अमेरिकी फुटबल महासंघ कोन्मेबोलले पनि फिफाका सबै २११ सदस्य राष्ट्रको सहभागितामा मतदान नभएसम्म इन्फान्टिनोलाई हटाउने कुनै पनि प्रयास अस्वीकार गर्ने जनाएको छ।

अफ्रिकी फुटबल महासंघ (काफ) का ५४ वटै सदस्य राष्ट्रले पनि इन्फान्टिनोलाई सर्वसम्मत रूपमा समर्थन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *