काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।
शनिबार काठमाडौँ कांग्रेसको महानगरपालिका वडा नम्बर २६ कार्यसमिति सम्मान कार्यक्रममा महामन्त्री पौडेलले पार्टीको सभापति संस्था भएकाले सभापतिभन्दा माथि कोही हुन नसक्ने बताए।
उनले पार्टीका वरिष्ठ नेताहरूको योगदान आफूभन्दा धेरै रहेको भन्दै उहाँहरूलाई सम्मान गर्नुपर्ने बताए ।
‘सभापति भनेको संस्था हो, त्यसैले संस्थाभन्दा माथि कोही हुँदैन । केही नेताहरू स्वयं वरिष्ठ नेता हुनुहुन्छ, त्यसैले वरिष्ठ मान्न नपर्ने केही कारण छैन। उहाँहरूको योगदान मेरोभन्दा धेरै छ । सभापतिभन्दा तल हामी सबैभन्दा माथि उहाँहरूलाई राख्न हामी तयार छौं। यो पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु,’ पौडेलले भने ।
उनले सिंहदरबार जलाउनेहरूकै हातमा अहिले सत्ता पुगेको बताए। आन्दोलन र हिंसाको माध्यमबाट सत्तामा पुग्ने प्रवृत्तिले मुलुकलाई थप संकटतर्फ लैजाने उनको भनाइ थियो।
उनले भने,‘आज त सिंहदरबार जलाउनेहरूको हातमा सत्ता छ । अब जलाउँदै हिँड्ने ? अस्ति झन्डै तराईबाट नै त्यस्तै अवस्था आइसकेको थियो । आगो लगाएपछि त कसैले निभाउन नपर्ने रहेछ । देशमा आगो लगाउन त सिकाइएको छ नि ।’
पौडेलले विगतमा कसले आगो लगायो भन्ने प्रश्न गर्दै आगजनी र हिंसाबाट सत्तामा पुगेकाहरूले अहिले त्यसलाई नियन्त्रण गर्न सक्ने अवस्था छ कि छैन भन्ने प्रश्न गरे।
‘हिजो को–कसले आगो लगाउनुभयो, आगो लगाएर सत्तामा पुग्नुभयो । अब निभाउन सक्नुहुन्छ, कसैलाई केही भन्न सक्नुहुन्छ ?’ उनले प्रश्न गरे।
