सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं । सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् । शनिबार काठमाडौंको थापागाँउस्थित ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात दलले मोर्चा घोषणा गरेका हुन् ।

मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् । मोर्चामा तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी पनि सहभागी भएको छ ।

विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित उनीहरुले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् । अवधारणा पत्रमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।

राजनीतिक सत्ताको अत्यधिक केन्द्रीकरण, सर्वसत्तावाद र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र मानव अधिकार सुनिश्चित गर्ने मोर्चाले लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *