रास्वपाका सांसदलाई भीमार्जुनको प्रश्नः सत्तापक्ष र प्रतिपक्ष दुबै आफैँ हुने तमासा किन देखाउनु हुन्छ ?

काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले सत्तारुढ दलकै सांसदले सरकारको कामकाबारेमा प्रश्न गर्नु खुसीको विषय भएको बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत आचार्यले सांसदले सरकारप्रति मात्र नभई आफैँमाथि पनि प्रश्न गर्नुपर्ने बाताएका हुन् । उनले सरकारका कामकारबाहीमा साँच्चै असन्तुष्ट भए बदल्ने तागत राख्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘सत्तारूढ दलका नेता र सांसद्हरूले सरकारका कामकाबारेमा अब प्रश्नहरू गर्न थाल्नु भएछ । खुसी लाग्यो । तर,प्रश्न सरकारप्रति मात्र होइन । तपाईँप्रति झनै गम्भीर छ । आफैले जन्माएको सरकारलाई संसद्, संविधान, दल, जनता कसैप्रति पनि जवाफदेही नभएको देख्न थाल्नु भा हो र यसका कामकारबाहीमा साच्चै असन्तुष्ट हुनु भा हो भने यसलाई बदल्ने तागत त तपाईँसँगै छ, किन त्यसो गर्न सक्नु हुन्न ? सत्तापक्ष र प्रतिपक्ष दुबै आफैँ हुने तमासा किन देखाउनु हुन्छ ? यस्तो कार्यले हाम्रा पद्दति र मूल्यलाई झनै कमजोर बनाउँछ ।’

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको कार्यशैलीप्रति रास्वपाका सांसदहरुले असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए । रास्वपा सांसद मनिष झाले सरकारको काम गर्ने ढंग नपुगेको भन्दै आलोचना गरेका थिए । त्यस्तै रास्वपा सांसदहरु रमेश प्रसाई, ज्वाला संग्रौला, कमल सुवेदी, पारसमणि गेलाल, सुशील खड्कालगायतले सरकारको कार्यशैलीको आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *