रमेश प्रसाईँको प्रश्नः मेरो प्रधानमन्त्री र मन्त्रीको क्वाटरमा ग्यासको अभाव छ कि छैन ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले देशभर खाना पकाउने ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद प्रसाईँले ग्यास अभाव हुन नदिन सरकारले भूमिका खेल्नुपर्ने बताएका हुन् । उनले जनताले नयाँको अनुभूति कामबाट दिनुपर्ने बताए ।

उनले चुनावअघि आफूले ‘नो लाइन’ रास्वपाको पालामा ‘वन्ली अनलाइन’ भनेर भाषण गरेको तर अहिले सम्झिँदा लाज लाग्ने गरेको बताए ।

उनले भने, ‘म कहिलेकाहीँ कन्फ्युज हुन्छु, कसलाई के भनूँ ! मेरै गाला, मेरै चड्कन । मैले चुनावताका गरेका भाषणहरू सम्झिँदा, जहाँ हामी सरकारी कार्यालयमा ‘नो लाइन’ रास्वपाको पालामा ’वन्ली अनलाइन’ भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ ।’

उनले ग्यास अभाव देशभर छ कि प्रधानमन्त्री र मन्त्री क्वार्टरमा पनि भन्दै प्रश्न गरे । उनले भने, ‘यो ग्यासको अभाव देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्रीको क्वाटरमा ग्यासको अभाव छ कि छैन ?’

उनले यदि ग्यासमा कालोबजारी भएको भए कारबाही गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘यदि कृत्रिम अभाव सिर्जना भएको हो भने ती कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन के ले रोकेको छ दुई तिहाइको सरकारलाई ? ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *