काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद ओलीले राष्ट्रियताको संवेदनशील विषयमा प्रधानमन्त्रीको यस्तो भनाइ त्रुटिपूर्ण रहेको बताइन् । उनले सत्तापक्षलाई बारम्बार ३५ वर्षमा के भयो भनी सोध्न छाडेर काम गर्न सुझाव दिइन् ।
उनले भनिन्, ‘३५ वर्ष उहाँहरूले के गर्नुभयो भनेर अब नसोध्नुस्, ३५ वर्षमा उहाँहरूले नगरेको काम अब तपाईंहरूले गरेर देखाउनुस्।’
उनले आईसीयूमा रहेका आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न आग्रह गरिन् । उनले भनिन्, ‘केही समयअघि मैले यही सदनबाट इन्टर्न डाक्टरहरूको आवाज उठाएकी थिएँ। अहिले वीर अस्पतालको आईसीयूमा एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकहरू आन्दोलनरत हुनुहुन्छ। उहाँहरूमध्ये एक जना अहिले आईसीयूमा गम्भीर अवस्थामा हुनुहुन्छ। उहाँहरूको माग भनेको समान भत्ता होस्, चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयन होस् र कार्यघण्टा श्रम ऐनअनुसार लागू होस् भन्ने हो। सरकार र स्वास्थ्य मन्त्रालयले तत्काल यो विषय सम्बोधन गर्नुपर्छ।’
सांसद ओलीले माइतीघर मण्डलामा विभिन्न माग राखेर आन्दोलनरत अन्य नागरिकका समस्या पनि सरकारले बेवास्ता गर्न नहुने बताइन्। उनले मिटरब्याज पीडित, दुर्घटनापीडित तथा न्यायको माग गर्दै आन्दोलन गरिरहेका नागरिकको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने धारणा राखिन्।उनले ग्यास अभाव र मूल्यवृद्धिको समस्या समाधानका लागि विद्युतीय चुलोलाई प्रोत्साहन गर्नुपर्ने बताइन्।
सांसद ओलीले राजदूत नियुक्ति प्रक्रियामा पारदर्शिता कायम गर्न पनि सरकारसँग आग्रह गरिन्। उनले भनिन्, ‘१६ वटा राजदूत पदका लागि करिब २ हजार ७ सय जनाले आवेदन दिनुभएको छ। अब मूल्याङ्कनको आधार के हो, को–को सर्टलिस्ट भए, प्रक्रिया के हो भन्ने कुरा सरकारले सार्वजनिक गर्नुपर्छ। यसले पारदर्शिताको उदाहरण स्थापित गर्छ।’
