काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि आन्दोलन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको जानकारी गराएको हो । परिषद् बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।
आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार परिषद्बाट विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजित गरिएको महासंघले जनाएको छ । यसैगरी, आर्थिक वर्ष २०८३/०८४ को बजेटमा शिक्षकसहित विभिन्न पेसाकर्मीको तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता व्यवस्था गरिए पनि प्रारम्भिक बालकक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदान शिक्षकलाई समेट नगरिएको भन्दै महासङ्घले आपत्ति जनाएको छ ।
महासङ्घले बजेटमा भएको उक्त विभेद सच्याउँदै प्रारम्भिक बालकक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदान शिक्षकलाई समेत समान सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
परिषद्ले शिक्षकका लागि दुर्गम (स्थानीय) भत्ता कार्यान्वयनमा समेत सरकारको ध्यानाकर्षण गराएको छ। २०८२ वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका लागि स्थानीय भत्ता उपलब्ध गराउने निर्णय गरे पनि हालसम्म सम्बन्धित क्षेत्रका सबै शिक्षकले उक्त सुविधा प्राप्त गर्न नसकेको महासङ्घले जनाएको छ।




