काठमाडौँ । नेकपा एमालेले सरकारले राजदूत नियुक्तिमा ढिलाई गरेको भन्दै आपत्ति जनाएको छ । नेकपा एमालेका नेता विष्णु रिजालले राजदूत नियुक्तिमा गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्, ‘जान्ने नभेटिएका हुन् कि छान्ने नभेटिएका हुन् ? बालेन साह नेतृत्वको सरकारले ६ देशका राजदूत फिर्ता बोलाएको आज ठ्याक्कै चार महिना भएछ । अहिलेसम्म १६ देशका दूतावास राजदूतविहीन छन् भने ५ देशमा म्याद सकिएका राजदूत कामचलाउ अवस्थामा छन् । आफ्नै प्रतिनिधि त समयमै नियुक्त गर्न नसक्ने सरकारले हाम्रो परराष्ट्र सम्बन्ध र कूटनीति कति गम्भीरताका साथ सञ्चालन गरिरहेको छ भन्ने यसबाट सहजै बुझ्न सकिन्छ ।’
उनले राजदूत नियुक्ति नगर्दा अन्तर्राष्ट्रिय स्तरमा हाम्रो मुलुकको घोर बेइज्जत भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘एकल सरकार, तेजतर्रार प्रधानमन्त्री, उही पार्टीका परराष्ट्रमन्त्री र खुल्ला आवेदनका नाममा २७ सय जनाको अपारदर्शी बिन्तिपत्र ग्रहण भइसक्दा पनि राजदूत नियुक्त गर्न नसक्नुले ’जान्नेलाई छान्नेहरु’को सरकारको अयोग्यता मात्र प्रकट भएको छैन, अन्तर्राष्ट्रिय स्तरमा हाम्रो मुलुकको घोर बेइज्जत भएको छ ।’
