‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो

लन्डन । रियल म्याड्रिड र बार्सिलोनाका पूर्वस्टार लुइस फिगोले विवादमा तानिएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पद छोड्न आग्रह गरेका छन् । उनले इन्फान्टिनोमाथि ‘धोकेबाज’ व्यवहार गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने बताए ।

विश्वकपको स्वामित्वको केही हिस्सा निजी इक्विटी लगानीकर्तालाई बिक्री गर्ने योजनाको तीव्र विरोधपछि इन्फान्टिनो दबाबमा गरेका छन् ।

५६ वर्षीय इन्फान्टिनोले आफ्नो ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपको २० प्रतिशत हिस्सेदारी बिक्री गर्ने योजना अघि गरेका थिए । उक्त प्रस्तावलाई तीन महादेशीय फुटबल महासङ्घले अस्वीकार गरेपछि उनी योजना स्थगित गर्न बाध्य भएका थिए ।

आफ्नो योजनापछि गुमेको समर्थन पुनः प्राप्त गर्ने प्रयासमा इन्फान्टिनोले बुधबार मोरक्कोमा फिफाका निर्देशकसँग आकस्मिक छलफल गरेको स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ।

पोर्चुगलका पूर्वफरवार्ड फिगोले भने उक्त योजनाको आलोचना गर्दै इन्फान्टिनोको राजीनामा माग गरेका छन् ।

“फिफाका समस्याबारे म १० हजार शब्द लेख्न सक्छु। तर समाधानका लागि तीन शब्द पर्याप्त छन, इन्फान्टिनो जानुपर्छ,” फिगोले बेलायती अखबार ‘डेली मेल’मा लेखेका छन् ।

उनले इन्फान्टिनोले फुटबलको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । “जसले आफू र आफ्ना सहयोगीलाई धनी बनाउन खेलमा यस्ता ठूला परिवर्तन जबर्जस्ती लागू गर्न खोज्छ, उसले फुटबलको भविष्यमा भूमिका खेल्नु हुँदैन,” फिगोले भने ।

इन्फान्टिनोले भने आफ्नो प्रस्तावले फिफाका सदस्य राष्ट्रको आम्दानी बढाउने दाबी गरेका थिए । तर विश्वभरका फुटबल सङ्घसँग पर्याप्त परामर्श नगरी योजना अघि बढाएको भन्दै उनको आलोचना भएको थियो।

हरेक चार वर्षमा आयोजना हुँदै आएको विश्वकपलाई दुई–दुई वर्षमा आयोजना गर्ने सम्भावनाबारेको बहसले पनि फुटबल जगतमा विवाद सिर्जना गरेको थियो।

फिफाका अन्य वरिष्ठ अधिकारी तथा आर्सनलका पूर्वप्रबन्धक आर्सन वेङ्गरले समेत इन्फान्टिनोको कार्यशैलीको आलोेचना गरेका छन् ।

सन् २०१५मा फिफा अध्यक्षको दौडबाट बाहिरिएका फिगोले इन्फान्टिनोले संस्थाको प्रतिष्ठा कमजोर बनाएको आरोप लगाए ।

“इन्फान्टिनोले फिफा अध्यक्ष पदको गरिमा घटाएका छन्, जुन पदलाई उँचो बनाउने वाचा गरेका थिए,” फिगोले भने, “फुटबललाई जोगाउन अझै ढिलो भएको छैन, उनी पदबाट बाहिरिनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *