काठमाडौँ । विभिन्न माग राख्दै एक सातादेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति गरेको छ । गएराति दुई पक्षबीच सहमति भएको हो । सहमतिसँगै उनले अनसन तोडेकी छन् ।
सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गरिनेछ।
त्यसैगरी अस्पतालहरूमा ’मिनिमम सर्भिस स्ट्यान्डर्ड’ र ’पेशेन्ट सेफ्टी’ अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, ’एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ मापदण्ड परिमार्जन गर्ने, तथा प्रवेश परीक्षा नीति सुधार गर्नेजस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने विषयमा सहमति जुटेको छ।



