सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ शिष्टाचार भेट गरेका छन् ।

सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–युरोपेली सङ्घ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसीहितका विविध विषयमा विचार–विमर्श भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।

सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली सङ्घको हवाइ सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेकाले यस प्रक्रियामा निरन्तर सहयोग र सकारात्मक समर्थनको अपेक्षा गरे ।

नेपाल सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखी अघि बढिरहेको जनाउँदै उनले रोजगारी सिर्जना, पूर्वाधार विकास, आर्थिक वृद्धि तथा प्रतिव्यक्ति आय वृद्धिलाई सरकारका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको बताए ।

निकट भविष्यमा युरोपेली सङ्घसँग संसदीयमैत्री समूह गठन गरिने जानकारी दिँदै सभामुख अर्यालले यस्ता मैत्री समूहहरूले संसदीय कूटनीति सुदृढ गर्न र संसदीय सम्बन्धलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान दिने उनको विश्वास रहेको छ ।

राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका दौरान नेपाल सरकार, सङ्घीय संसद् तथा नेपाली जनताबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै नेपाल र युरोपेली स्घबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *