बारम्बार उही स्थानमा उही प्रकारका पहिरो किन दोहोरिन्छ ?

-रञ्जनकुमार दाहाल ।

हामी पहाडी मुलुक हौं, जहाँ हिमाल, पहाड, गहिरा उपत्यका र कमजोर भौगर्भिक संरचनाबीच पूर्वाधार विकास गर्नु अत्यन्त चुनौतीपूर्ण छ। सीमित स्रोत र प्रविधिका बाबजुद नेपालले सडक, पुल, सुरुङ र जलविद्युत् क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। तर, यस यात्राको सबैभन्दा ठूलो समस्या पहिरो नियन्त्रण र भिरालो स्थिरता नै हो।

पहिरोले सडक मात्र होइन, बस्ती, घर, खेतबारी, पुल, विद्युत् र खानेपानी प्रणालीसमेत नष्ट गर्छ। हरेक वर्ष मनसुनसँगै सयौंको ज्यान जाने, हजारौं विस्थापित हुने र अर्बौंको क्षति हुने गरेको छ। कतिपय सडक दिनौंसम्म बन्द हुँदा जनजीवन, व्यापार र आपूर्ति प्रणाली गम्भीर रूपमा प्रभावित हुन्छ। सबैभन्दा महत्वपूर्ण प्रश्न भने, के हामीसँग ज्ञान र जनशक्ति छैन ? होइन। नेपालमा इन्जिनियरिङ भूविज्ञान, भू–प्राविधिक इन्जिनियरिङ र पहिरो जोखिम व्यवस्थापनमा दक्ष विज्ञ, संस्था र अन्तर्राष्ट्रिय स्तरमा योगदान दिने विशेषज्ञहरू पर्याप्त छन्।

त्यसो भए समस्या कहाँ छ ? बारम्बार उही स्थानमा उही प्रकारका पहिरो दोहोरिनु योजना, डिजाइन, निर्माण गुणस्तर, मर्मत र निर्णय प्रक्रियामा भूगर्भीय अध्ययनलाई पर्याप्त महत्व नदिइनुका परिणाम हुन्। धेरै परियोजनामा विस्तृत अध्ययनबिना नै निर्माण गरिन्छ, सडक भित्ता असुरक्षित छाडिन्छ, पानी निकास कमजोर हुन्छ र मर्मत तथा अनुगमन प्रभावकारी हुँदैन।

अब समय आएको छ कि हामी पहिरो हटाउने होइन, रोक्ने रणनीतिमा केन्द्रित होऔँ। वैज्ञानिक अध्ययनमा आधारित योजना, अनिवार्य इन्जिनियरिङ भूगर्भीय मूल्याङ्कन, गुणस्तरीय निर्माण, प्रभावकारी पानी व्यवस्थापन र नियमित अनुगमनलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ। ठूला पूर्वाधार परियोजनामा इन्जिनियरिङ भूगर्भशास्त्री र भू–प्राविधिक विज्ञको निर्णायक भूमिका सुनिश्चित गर्न आवश्यक छ। नेपालमा पहिरो केवल प्राकृतिक होइन, यो धेरै हदसम्म व्यवस्थापन र योजनागत कमजोरीसँग जोडिएको समस्या हो, जसलाई सही दृष्टिकोण अपनाए नियन्त्रण गर्न सकिन्छ। यस विषयमा विज्ञ, नीति निर्माता र सम्बन्धित निकायबीच गम्भीर बहस आवश्यक छ, ताकि नेपालले दीर्घकालीन रूपमा सुरक्षित पूर्वाधार विकास गर्न सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *