भद्रपुर भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत लक्ष्य पूरा

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।

भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र सङ्कलन भएको हो ।

आव २०८१/८२ मा पनि कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन । उक्त वर्ष रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २० करोड ८६ लाख ६९ हजार ६३१ मात्र सङ्कलन भएको थियो ।

सूचना अधिकारी लामाका अनुसार भद्रपुर नाकाबाट हाल निर्यात नहुँदा राजस्व सङ्कलन कम भएको हो । यस नाकाबाट विशेषगरी सुर्तीजन्य पदार्थको आयात बढी हुने गरेको उनले बताए । झापाको निर्यात व्यापारको ठूलो हिस्सा भने मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *