दुुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौँ । दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ ।

कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ ।

छलफलमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र समुदायमैत्री बनाउन सुझाव दिएका थिए ।

त्यस अवसरमा महावाणिज्यदूत हरिप्रसाद ओडारीले प्राप्त सुझाव आफ्ना निम्ति मार्गदर्शक हुने बताउँदै सबै सहभागीप्रति आभार व्यक्त गरे । साथै, उनले नेपाली समुदायसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका विशेषगरी दुबई तथा उत्तरी इमिरेट्समा बसोबास गर्ने नेपाली नागरिकलाई कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले दुबईमा महावाणिज्यदूतावास स्थापना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *