काठमाडाैँ । नेपाल बौद्ध महासंघ ले सुनसरी, सिराहा लगायत पूर्वी तराईका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता भएका दुःखद् हिंसात्मक घटनाप्रति गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै नेपालमा दिगो शान्ति, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेको छ।
महासंघद्वारा जारी विज्ञप्तिमा हिंसात्मक घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
महासंघले नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीच आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको मुलुक भएको उल्लेख गर्दै पछिल्ला घटनाले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको गौरवमय इतिहासमा गम्भीर आघात पुगेको जनाएको छ। हिंसा र द्वन्द्वले विगतको गौरव, वर्तमानको स्थिरता तथा भविष्यको समृद्धिलाई गम्भीर क्षति पुर्याउने भएकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण सम्पूर्ण नेपालीको साझा दायित्व भएको महासंघको भनाइ छ।
महासंघले सम्पूर्ण नेपाली नागरिकलाई शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न आग्रह गर्दै सबै धर्मगुरु, शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी तथा सरोकारवालालाई संयम अपनाई शान्ति र स्थिरताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ।
त्यसैगरी, देशभरका गोन्पा, बौद्ध गोन्पा विद्यालय तथा समग्र बौद्ध समुदायलाई आ–आफ्नो स्थानबाट नेपालमा दिगो शान्ति स्थापनाका लागि विशेष प्रार्थना गर्न अनुरोध गरिएको छ।
यसैबीच, नेपाल बौद्ध महासंघको आयोजनामा २०८३ साउन १६ गते शनिबार साँझ ५:०० बजे काठमाडौं महानगरपालिका–६, बौद्धस्थित बौद्ध महाचैत्य परिसरमा दीप प्रज्वलनसहित विशेष शान्ति प्रार्थना कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा सहभागी भई शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा ऐक्यबद्धता जनाउन महासंघले सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गरेको छ।

