बसको ठक्करबाट कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक–खण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुमा पठाइएकोमा चिकित्सकले आइतबार राति १ः५० बजे दुवैलाई मृत घोषणा गरेका हुन् ।

मृतक दुवै जनाको पहिचान अझै खुल्न बाँकी रहेको छ भने शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल, बस तथा बसका सह–चालक जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका –०५ खैरागार बस्ने २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।

बस चालक जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका –०२ खरीगैरा बस्ने २८ वर्षीय श्याम कुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *