बीबीसी । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दुई लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । फ्रान्सको बोर्डो आसपासका क्षेत्रमा मात्रै करिब ६० हजार जनालाई तत्काल सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
दक्षिण–पश्चिम फ्रान्सका गिरोन्ड र लान्द क्षेत्रमा करिब दुई लाख मानिसलाई घर छाड्न लगाइएको छ। डढेलो नियन्त्रणका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेनासमेत परिचालन गरेका छन्।
उता स्पेनको राजधानी म्याड्रिड नजिकै तीनवटा डढेलो एकआपसमा गाभिएर ठूलो आगलागीमा परिणत भएपछि अवस्था नियन्त्रणबाहिर गएको अधिकारीहरूले बताएका छन्। स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गर्दै २५ हजार जनालाई सुरक्षित स्थानमा सार्न र झन्डै ४० हजार जनालाई घरभित्रै बस्न निर्देशन दिएको छ।
म्याड्रिड क्षेत्रकी अध्यक्ष इसाबेल डियाज आयुसोले यसलाई क्षेत्रकै इतिहासको सबैभन्दा ठूलो डढेलो भएको बताउँदै अत्यधिक तापक्रम, तीव्र हावा र आगोका मोर्चा एकआपसमा गाभिनु संकटको मुख्य कारण रहेको बताएकी छन्।
म्याड्रिड क्षेत्रीय सरकारका आपतकालीन व्यवस्थापन प्रमुख कार्लोस नोभियोका अनुसार डढेलो अहिले चरम अवस्थामा पुगेको छ र दमकलकर्मीहरूको क्षमताभन्दा बाहिर गएको छ। प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा आगो नियन्त्रण गर्न नसकिएकाले हाल रक्षात्मक रणनीति अपनाइएको उनले बताए।
डढेलो नियन्त्रणका लागि स्पेनको सैन्य आपतकालीन इकाइ परिचालन गरिएको छ। विशेषगरी एल एस्कोरियल नगर आसपासका क्षेत्रलाई जोगाउन प्राथमिकता दिइएको छ। साथै, आविला प्रान्तमा लागेको अर्को डढेलो पनि म्याड्रिडतर्फ फैलिरहेको आगोसँग गाभिन सक्ने जोखिम रहेको भन्दै निगरानी बढाइएको छ।
स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे–मार्लास्काले दुई डढेलो एकआपसमा गाभिन नदिन सरकारले सबै सम्भावित प्रयास गरिरहेको बताएका छन्।
अधिकारीहरूका अनुसार म्याड्रिड क्षेत्रमा मात्रै ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। तीमध्ये ३० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ भने २० हजार जनालाई घरभित्रै बस्न आदेश दिइएको छ। आगोका झिल्काहरू धेरै किलोमिटरसम्म उडिरहेकाले प्रभावितको संख्या अझ बढ्न सक्ने चेतावनी दिइएको छ।
अहिलेसम्म म्याड्रिड क्षेत्रमा कम्तीमा ६ हजार हेक्टर र आविला प्रान्तमा झन्डै ९ हजार हेक्टर जमिन डढिसकेको छ। डढेलोका कारण आठवटा नगरपालिका खाली गराइएको छ भने अन्य केही नगरमा अझै पनि ‘लकडाउन’ आदेश कायम छ।
