भैरहवा । रुपन्देहीमा आफूलाई जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरी भएको भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ निवासी तथा हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साँझ करिब ७ः३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू घुमुवा प्रहरी भएको परिचय दिँदै पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार मागिरहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरीले राणालाई नियन्त्रणमा लिएर शरीर तथा डेरा कोठामा खानतलासी गर्दा एक थान नक्कली रिभल्भर, एक थान सवारी चालक अनुमतिपत्र, ५०० ग्राम गाँजा, भिभो कम्पनीको एक थान एन्ड्रोइड मोबाइल र नगद २ हजार ६ सय बरामद गरेको जनाएको छ।
पक्राउ परेका राणालाई बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
