पेपर लिक प्रकरणमा सरकारले चालेका कदमको मोदीद्वारा बचाउ

बीबीसी । भारतमा पेपर लिक प्रकरणलाई लिएर देशभर विद्यार्थी आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले चालेका कदमको बचाउ गरेका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पेपर लिकजस्ता घटनाविरुद्ध थप कडा कदम चालिने बताएका हुन्।

नीट परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनापछि भारतका विभिन्न स्थानमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन्। जुनको अन्तिम सातादेखि नयाँदिल्लीको जन्तर–मन्तरमा ककरोच जनता पार्टीले आन्दोलन सुरु गरेको छ। आन्दोलनकारीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेका छन्।

देशभर फैलिएको आन्दोलनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यान आकर्षित गरेको छ भने विपक्षी दलहरूले पनि सरकारमाथि दबाब बढाएका छन्।
यहीबीच सार्वजनिक गरिएको भिडियोमा प्रधानमन्त्री मोदीले पेपर लिकलाई “सामान्य विषय नभएको” भन्दै लाखौं विद्यार्थी र अभिभावकको भविष्यसँग जोडिएको संवेदनशील मुद्दा भएको बताएका छन्। उनले घटनामा संलग्न दोषीहरू पक्राउ परिसकेको र उनीहरू जेलमा रहेको दाबी गरे।

मोदीले पेपर लिकका कारण विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिन सरकारले छोटो समयमै २२ लाख विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गरेको र जुन १९ मा नतिजासमेत सार्वजनिक गरिएको बताए।
उनले पेपर लिकजस्ता अपराधमा छिटो न्याय सुनिश्चित गर्न फास्ट ट्रयाक अदालत स्थापना गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

सम्बन्धित निकायले आवश्यक विधेयकको मस्यौदा तयार गरिसकेको र संसद्को अधिवेशन पुनः सुरु भएपछि त्यसलाई यथाशीघ्र पारित गराउने प्रयास गरिने उनले बताए।

उता, लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्रीको भिडियो पुनः पोस्ट गर्दै मोदीमाथि ‘विद्यार्थीको अपमान गरिरहेको’ आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *