गणतन्त्रपछिका उपलब्धिमाथि नियोजितरूपमा अवमूल्यन गर्ने प्रयास भयोः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् ।

बिहीबार ४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासलाई अपमानित गरिएको छ । शिक्षामा र स्वास्थ्यमा भएका प्रगतिलाई अपमानित र अवमूल्यन गरिँदै छ ।’

उनले भौतिक पूर्वाधार क्षेत्रमा भएको अभूतपूर्व विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा हासिल भएका प्रगतिलाई समेत अपमानित र अवमूल्यन गरिरहेको बताए ।

प्रचण्डले पुष्पलाल स्मृति दिवसलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर मात्र नभई गणतन्त्रका उपलब्धि र पुष्पलालको विचारअनुसार भएका परिवर्तनमाथि भइरहेको ‘प्रतिगामी हमला’ विरुद्ध नयाँ अभियान सुरु गर्ने सङ्कल्पको दिनका रूपमा लिएको बताए ।

उनले भने, ‘यस पटक पुष्पलालप्रति श्रद्धाअर्पण गर्नुको हाम्रो देशमा जुन प्रतिक्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिहरू माथि वा पुष्पलालको शिक्षा अनुसार भएको परिवर्तनमाथि हमला गरेको छ । यसको विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने सङ्कल्पको दिनको रूपमा रहेको छ ।’

सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध संघर्ष गर्न सक्ने वैचारिक आधार निर्माणका लागि नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन–अनुसन्धान आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *