काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतको मुद्दामा तत्काल कारबाही रोक्ने गरी मुल्तबीमा राख्न गरिएको अनुमतिको माग अस्वीकार गरेको छ ।
मंगलबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दा मुल्तबीको माग अस्वीकार गरेको हो । महत ‘फ्रन्ट टेम्पोरल डिमेन्सिया’ रोगबाट गम्भीर रूपमा मानसिक तथा शारीरिक रूपमा अशक्त भई स्मरण शक्ति हराएको भन्दै महत पत्नी रोशनी महतले अदालतमा निवेदन दिएकी थिइन् ।
भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित भई बयानका लागि उपस्थित हुन असमर्थ भएको दाबीसमेत महत परिवारले गरेको थियो । तर अदालतले त्यसलाई अस्वीकार गरेको छ ।
अदालतले भनेको छ, ‘उल्लेखित अवस्थाको प्रस्तुत मुद्दामा प्रतिवादी रामशरण महत यी निवेदक रोशना महतका साथ अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी इजलासबाट कानुनबमोजिम उपयुक्त आदेश हुन सक्ने नै हुँदा प्रस्तुत निवेदन माग बमोजिम हाल मुल्तबी राख्न मिलेन । कानुन बमोजिम गर्नू ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँचजना पूर्वमन्त्रीसहित ५६ जनाविरूद्ध मंसिर २२ गते मुद्दा दर्ता गरेको थियो ।
