काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई निर्वाचन क्षेत्र तथा अन्य जिल्लामा हुने भ्रमणलाई थप प्रभावकारी र व्यवस्थित बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ती जारी गरी सांसदहरूको क्षेत्रीय भ्रमणलाई केवल औपचारिक जनसम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठन सुदृढ बनाउने र जनताका सुझावलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने अभियानका रूपमा सञ्चालन गर्न आग्रह गरेका हुन् ।
कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय भएपछि सम्बन्धित पार्टी समितिलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्नेछ। आफ्नै निर्वाचन क्षेत्रबाहिर जाने कार्यक्रम भए सम्बन्धित सांसद तथा पार्टी संयन्त्रसँग आवश्यक समन्वय गर्न पनि निर्देशन दिइएको छ।
रास्वपाले स्थानीय समितिसँग पूर्वछलफल गरेर सम्बन्धित क्षेत्रका ज्वलन्त मुद्दा पहिचान गर्न, ती विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी प्राथमिकताका साथ अघि बढाउन तथा कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको नेतृत्व र अपनत्व सुनिश्चित गर्न पनि सांसदहरूलाई आग्रह गरेको छ।
त्यस्तै, भ्रमण तथा कार्यक्रमहरूलाई तडकभडक र अनावश्यक खर्चरहित बनाउँदै मितव्ययितालाई प्राथमिकता दिन तथा सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न निर्देशन दिइएको छ।
पार्टीले निर्वाचन क्षेत्रमा प्राप्त जनसुझाव, गुनासा तथा स्थानीय समितिबाट प्राप्त प्रतिवेदनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी संघीय संसदीय दलमा पेस गर्नुपर्ने व्यवस्था पनि गरेको छ।

