मालीमा विद्रोही जिहादी समूहको आक्रमणमा कम्तीमा ५० सैनिकको मृत्यु

बामाको । टुआरेग विद्रोही र जिहादी समूहको संयुक्त आक्रमणमा मालीका कम्तीमा ५० सैनिक मारिएका छन्। उत्तरी रणनीतिक शहर अनेफिसबाट बाहिरिँदै गरेको सेनाको समूहमाथि शनिबार आक्रमण भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आक्रमण केही सातादेखि चलिरहेको लडाइँपछि भएको हो, जसमा दुवै पक्षले युद्ध भएको क्षेत्रमा पकड जमाउन प्रयास गरिरहेका थिए ।

जुलाईको सुरुतिर टुआरेग अलगाववादी समूह र ‘अल–कायदा सम्बद्ध ग्रुप फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम्स’ ले अनेफिस शहर कब्जा गरेका थिए र माली सेना तथा रुसी प्यारामिलिटरी (अफ्रिका कोर) ले प्रयोग गर्ने सैनिक आधारलाई घेरा हालेका थिए।

टुआरेग र ग्रुप फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम्सले आक्रमणको जिम्मेवारी लिएका छन् ।

‘आक्रमणबाट भएको प्रारम्भिक तथ्याङ्क निकै भयावह छ । कम्तीमा ५० सैनिक मारिएका छन् र कम्तीमा २४ जना बन्धक बनाइएका छन्,’ सैनिक शासक (जुन्टा) निकट एक स्थानीय निर्वाचित अधिकारीले एएफपीलाई भने ।

आफ्नो नाम गोप्य राख्न अनुरोध गर्दै ती अधिकारीले यो आक्रमणलाई माली सेनाले वर्षौंदेखि बेहोरेको सबैभन्दा घातक आक्रमण भनेका छन् ।

‘हाम्रा केही सैनिकहरूलाई त केवल गोली हानी हत्या गरियो,’ माली सेनाभित्रका एक स्रोतले भन्यो । स्रोतले सामरिक कमजोरी पहिल्याउन अनुसन्धान भइरहेको बतायो । ‘हाम्रा सैनिकहरू यति कमजोर कसरी भए भन्ने कुरा बुझ्ने प्रयास गरिरहेका छौँ,’ उनले भने ।

सेनालाई सहयोग गरिरहेका रुसी अर्धसैन्य दस्ताहरू आक्रमण हुँदा पहिल्यै आफ्नो गन्तव्य गाओ पुगिसकेका थिए र उनीहरूको कुनै क्षति भएको छैन।

‘कुनै पनि रुसी मारिएनन्। मारिनेहरू सेना र सरकार समर्थित लडाकूका सदस्यहरू मात्र हुन्,’ गाओ क्षेत्रका एक समुदायका नेताले भने । शनिबार सेनाले काफिला ‘आतङ्ककारी सशस्त्र समूहले राखेको एम्बुसमा परेको’ स्वीकार गरेको थियो तर हताहतको सङ्ख्या भने खुलाएको थिएन ।

मालीमा सन् २०२० र सन् २०२१ मा भएका क्रमिक सैनिक कू पछि सेनाप्रति वफादार समूहको शासन छ । जुन्टाले वर्षौंदेखि चलिरहेको जिहादी र अलगाववादी अशान्तिपछि सुरक्षा व्यवस्था कायम गर्ने आफ्नो वाचा पूरा गर्न सङ्घर्ष गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *