हङकङ। संयुक्त राज्य अमेरिका र इरानबीच चर्किएको सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ।
मध्यपूर्वमा चुलिँदै गएको द्वन्द्व र यसले विश्व अर्थतन्त्रमा पार्नसक्ने सम्भावित प्रभावलाई मध्यनजर गर्दै लगानीकर्ताहरू सतर्क बन्दा एसियाली सेयर बजारमा भने मिश्रित कारोबार दर्ता भएको छ।
गत सातादेखि दुई देशबीच सैन्य टकराव तीव्र बनेपछि विश्वको कुल समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने रणनीतिक ‘हर्मुज जलसन्धि’मा अवरोध आउन सक्ने चिन्ता बढेको छ, जसका कारण कच्चा तेलको मूल्य ह्वात्तै बढेको हो।
अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि र इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य संरचनामाथि जवाफी प्रहार गरेपछि बजारमा यो वृद्धि देखिएको हो।
अन्तर्राष्ट्रिय मापदण्ड ‘ब्रेन्ट’ कच्चा तेल र अमेरिकी ‘वेस्ट टेक्सास इन्टरमिडिएट’ (डब्लुटीआई) दुवैको मूल्य गत साताको अन्त्यमा चार प्रतिशतभन्दा बढीले बढेको थियो। सोमबार ब्रेन्टको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च विन्दुमा पुगेको छ।
भू-राजनीतिक जोखिमका कारण तेलको मूल्य लामो समयसम्म उच्च रहेमा त्यसले पुनः महँगी बढाउन सक्ने र विश्वभरका केन्द्रीय बैंकहरूको ब्याजदर कटौती योजनालाई प्रभावित बनाउन सक्ने चिन्ता विश्लेषकहरूले व्यक्त गरेका छन्।
एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसका अनुसार एकातिर भू-राजनीतिक जोखिमले तेलको मूल्य बढाइरहेको छ भने अर्कोतर्फ अमेरिकी मुद्रास्फीति घट्दै गएकाले बजारले दुई विपरीत अवस्थाको सामना गरिरहेको छ। यद्यपि, तेलको मूल्य लगातार बढेमा यसले घरायसी खर्च घटाउन र समग्र आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्छ।
यसैबीच, एसियाली सेयर बजारमा सोमबार मिश्रित कारोबार भएको छ। चिनियाँ सरकारले अर्थतन्त्रलाई प्रोत्साहन दिन नयाँ नीतिहरू ल्याउने अपेक्षामा हङकङको सेयर सूचकांक दुई प्रतिशतभन्दा बढी र साङ्घाईको सूचकांक १.३२ प्रतिशतले उकालो लागेका छन्।
ताइपेई, मनिला र सिङ्गापुरका बजारमा पनि सुधार देखिएको छ भने सियोल, सिड्नी र वेलिङ्टनका बजारमा लगानीकर्ताहरूले सावधानीपूर्वक कारोबार गरेका छन्।
वाल स्ट्रिटका प्रमुख सूचकांकहरू गिरावटमा बन्द भएपछि लगानीकर्ताहरू अझ सतर्क बनेका हुन्। भू-राजनीतिक तनावका बिच पनि अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य ०.४० प्रतिशतले घट्दा चाँदीको मूल्यमा भने एक प्रतिशतको वृद्धि देखिएको छ।
