अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रोपटक फिफा विश्वकप च्याम्पियन

काठमाडौं । फिफा विश्वकप-२०२६ को उपाधि स्पेनले जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १-० गोलले पराजित गर्दै स्पेनले दोस्रोपटक विश्वकपको उपाधि जितेको हो ।

न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको १ सय छैटौ मिनेटमा निको विलियम्सको हेडर ब्याक पासमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाएका हुन् ।

यसअघि खेलको अधिकांश समय दबाबमा राखेपनि अर्जेन्टिनि गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई निराश पारेका थिए ।

खेलको पाँचौं मिनेटमा लामिने यामालको शक्तिशाली प्रहार मार्टिनेजले उत्कृष्ट बचाउ गरेका थिए । ३९औं मिनेटमा मिकेल ओयार्जाबालको प्रयास पनि उनले विफल पारे । त्यसको चार मिनेटपछि मार्क कुकुरेलाको डि-बक्स बाहिरबाट आएको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा पनि स्पेनले निरन्तर आक्रमण जारी राखेको थियो । ६४औं मिनेटमा डानी ओल्मोको प्रहार मार्टिनेजले रोके भने ७७औं मिनेटमा फाबियन रुइजको प्रहारमा पनि उनी बाधक बने । लगत्तै पाउ कुबार्सीको प्रयाससमेत मार्टिनेजले बचाउँदै अर्जेन्टिनालाई गोल खानबाट जोगाएका थिए ।

८० औं मिनेटमा आयमेरिक लापोर्टेको हेडर पनि मार्टिनेजले सहजै नियन्त्रणमा लिएका थिए । ८९औं मिनेटमा रोड्रीको प्रहार भने आकासिएको थियो ।

इन्जुरी समयको तेस्रो मिनेटमा निको विलियम्सको शक्तिशाली प्रहार पनि मार्टिनेजले रोके। त्यसपछि इन्जो फर्नान्डेजले दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्डसहित मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयको सातौं मिनेटमा लामिने यामालको फ्रि–किकसमेत मार्टिनेजले बचाएपछि निर्धारित समय गोलरहित बराबरीमा समाप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *