काठमाडौं । फिफा विश्वकप-२०२६ को फाइनल खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको छ । न्युयोर्क–न्यु जर्सी स्टेडियममा जारी रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले अधिकांश समय खेलमा दबाब बनाए पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा कायम राख्न सफल भएका हुन् ।
खेलको पाँचौं मिनेटमा लामिने यामालको शक्तिशाली प्रहार मार्टिनेजले उत्कृष्ट बचाउ गरे । ३९औं मिनेटमा मिकेल ओयार्जाबालको प्रयास पनि उनले विफल पारे । त्यसको चार मिनेटपछि मार्क कुकुरेलाको डि-बक्स बाहिरबाट आएको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
दोस्रो हाफमा पनि स्पेनले निरन्तर आक्रमण जारी राखेको थियो । ६४औं मिनेटमा डानी ओल्मोको प्रहार मार्टिनेजले रोके भने ७७औं मिनेटमा फाबियन रुइजको प्रहारमा पनि उनी बाधक बने । लगत्तै पाउ कुबार्सीको प्रयाससमेत मार्टिनेजले बचाउँदै अर्जेन्टिनालाई गोल खानबाट जोगाए ।
८० औं मिनेटमा आयमेरिक लापोर्टेको हेडर पनि मार्टिनेजले सहजै नियन्त्रणमा लिए । ८९औं मिनेटमा रोड्रीको प्रहार भने आकासियो।
इन्जुरी समयको तेस्रो मिनेटमा निको विलियम्सको शक्तिशाली प्रहार पनि मार्टिनेजले रोके। त्यसपछि इन्जो फर्नान्डेजले दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्डसहित मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको हो । इन्जुरी समयको सातौं मिनेटमा लामिने यामालको फ्रि–किकसमेत मार्टिनेजले बचाएपछि निर्धारित समय गोलरहित बराबरीमा समाप्त भएको हो ।
अब विजेताको टुंगो लगाउन खेल ३० मिनेटको अतिरिक्त समयमा प्रवेश गरेको छ।
