जश्मिन ओझा ।
विनु यादवको प्रश्न केवल एउटा व्यक्तिको होइन, यो राज्यको न्याय प्रणालीमाथिको प्रश्न हो । विगत लामो समयदेखि विनु यादव न्यायका लागि निरन्तर संघर्ष गरिरहेकी छिन् । उनको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । यसबीच उनले कहिले सर्वोच्च अदालतमा रातो रङ फालेर विरोध जनाइन्, कहिले सडक आन्दोलन गरिन्, त कहिले आमरण अनशनसम्म बसिन् । प्रश्न उठ्छ विनुहरुले न्याय पाउन यति धेरै संघर्ष किन गर्नुपरिरहेको छ ? हिंसामा भोग्नुभएको उहाँले आफूमाथि भएको अन्याय बारम्बार प्रमाणित गर्नुपर्छ । एउटै पीडा पटक–पटक सुनाउनुपर्छ । एउटा कार्यालयबाट अर्को कार्यालय धाउनुपर्छ ।
तर यति सबै गर्दासमेत वर्षौं बितिसक्दा पनि न्यायको ढोका खुल्दैन भने, यो केवल विनुको समस्या होइन, यो राज्यको असफलता हो । सरकार फेरिए । नेतृत्व फेरियो । धेरै आश्वासन दिइए । धेरै प्रतिबद्धता गरिए । यदि राज्यले आफ्ना नागरिकप्रति जिम्मेवारी लिन सक्दैन भने, एउटा आमनागरिक न्याय माग्न कहाँ जाने ?
यदि यो राज्य विनुहरुको लागि सुरक्षित छैन, यदि उनीहरूको आवाज सुन्न सक्दैन भने, त्यसपछि यो राज्य कसका लागि हो ? कसको आवाज सुन्छ ? कसको हितका लागि काम गरिरहेको छ ? यी प्रश्नहरू फेरि एकपटक गम्भीर रूपमा उठेका छन् । म पनि विनुको न्यायको यात्रामा लामो समयदेखि सँगै छु । हामीले कानुनी बाटो अपनायौं । सम्बन्धित निकायहरू धायौं । शान्तिपूर्ण रूपमा न्यायको माग गर्यौं । तर सुनुवाइ भएन । सुन्नुस, आफ्नो पीडा लिएर पटक–पटक सडकमा उत्रिने रहर कसैलाई हुँदैन । आफ्नो जीवनका सबैभन्दा पीडादायी घटना बारम्बार सार्वजनिक रूपमा सुनाउन कसैलाई मन लाग्दैन । तर जब राज्यका ढोका बन्द हुन्छन्, नागरिक सडकमा आउन बाध्य हुन्छन् । जब न्याय पाउन सबै औपचारिक बाटो असफल हुन्छन्, आन्दोलन नै अन्तिम विकल्प बन्छ ।
अहिलेको सरकारसँग आम नागरिकका धेरै आशा थिए । तर सरकारले नागरिकसँग गरिरहेको व्यवहार र न्यायप्रतिको उदासीनताले गम्भीर प्रश्न उठाएको छ यो सरकार वास्तवमै कसको पक्षमा उभिएको छ ? एउटी हिंसापीडित महिलाले आफ्नै देशको गृहमन्त्रीलाई आफ्नो पीडा सुनाउन सिंहदरबारको गेटअगाडि बसेर गुहार माग्नुपर्ने अवस्था लोकतान्त्रिक राज्यका लागि अत्यन्त दुःखद र लज्जास्पद हो ।
सरकारको प्रतिनिधित्व गरिरहनुभएका सबैलाई एउटा कुरा सम्झाउन चाहन्छु नबिर्सिनुस्, हिजो पनि जनताले अन्याय, अहंकार र गलत निर्णयको हिसाब गरेर मत बदलेका थिए । आज तपाईंहरूले चाल्नुभएको हरेक कदम पनि जनताले हेरिरहेका छन् । यसको हिसाब पनि राखिरहेका छन् । बेलैमा सचिनुस् । बेलैमा सुध्रिनुस् । किनकी अन्तिम फैसला सधैं जनताले नै गर्छन् ।
