चितवन । चितवन राष्ट्रिय निकुञ्जको जंगली हात्ती ‘धुर्वे’लाई १० दिनको निरन्तर खोजीपछि डार्ट गरी सफलतापूर्वक स्याटेलाइट प्रविधिमा आधारित अत्याधुनिक रेडियो कलर जडान गरिएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार बुधबार राति करिब १० बजे सुकीभार पोस्टबाट करिब २०० मिटर पूर्व क्षेत्रमा धुर्वेलाई डार्ट गरी रेडियो कलर जडान गरिएको हो।
यस अभियानमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणका गणपति शिवराम बस्न्यातसहित निकुञ्जका प्राविधिक तथा वन्यजन्तु व्यवस्थापन टोलीको सक्रिय सहभागिता रहेको थियो।
धुर्वे साउन २१ गतेदेखि निगरानीबाट बाहिर रहेकाले निकुञ्जले निरन्तर खोजी अभियान सञ्चालन गर्दै आएको थियो। करिब १० दिनपछि उसको अवस्थिति पत्ता लगाएर सुरक्षित रूपमा डार्ट गरी रेडियो कलर जडान गर्न सफलता मिलेको प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिए।
रेडियो कलर जडान भएसँगै अब धुर्वेको हरेक गतिविधि स्याटेलाइटमार्फत वास्तविक समयमा (रियल टाइम) निगरानी गर्न सकिनेछ। यसबाट हात्तीको आवतजावतको जानकारी समयमै प्राप्त हुने, मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न तथा स्थानीय बासिन्दाको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन सहज हुने निकुञ्जको विश्वास छ।
धुर्वे हात्ती विगतदेखि नै चितवन तथा आसपासका क्षेत्रमा आतंकको पर्याय बन्दै आएको छ। यस हात्तीको आक्रमणबाट हालसम्म कयौं व्यक्तिले ज्यान गुमाइसकेका छन्, जसका कारण निकुञ्जले यसलाई विशेष निगरानीमा राख्ने उद्देश्यले रेडियो कलर जडान गरेको हो।
