काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको विकास सहकार्यलाई अघि बढाउन चाहेको बताएका छन् ।
नेपाल र युएडिपीबीच सहकार्य सुरु भएको ६०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले गरिबी निवारण, असमानता घटाउन, दिगो विकास, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा युएनडिपीले पु¥याएको योगदान अविस्मरणीय रहेको बताए ।
“गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ,” अर्थमन्त्री वाग्लेले भने, “आज ६० वर्ष पुगेको यो सहकार्य शताब्दीसम्म निरन्तर रहोस् भन्ने कामना गर्दछु ।”
संयुक्त राष्ट्रसङ्घको छातामुनि हुने विकास सहकार्य केवल लगानीको रकममा मात्र सीमित नरही अन्तरदेशीय सहकार्य र समन्वयको सशक्त माध्यमका रूपमा रहेको उनले बताए ।
नेपालमा पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवा सशक्तीकरण तथा डिजिटल रूपान्तरणका क्षेत्रमा युएनडीपीले पु¥याएको योगदानको सराहना गरे ।
त्यस अवसरमा अर्थमन्त्री वाग्लेले युएनडिपीले नेपालमा गरेका कार्यहरूको तस्बिर र विवरण समेटिएको फोटो पुस्तक ‘६० वर्षको सहयात्रा’ पनि सार्वजनिक गरे ।
