बुटवलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने मेशीनसहित ६ जना पक्राउ

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका ६ नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, पोखरा महानगरपालिका १ का किरण कृष्ण तिवारी (कृष्ण), कपिलवस्तुका संजय थारु, भक्तपुरका रामचन्द्र खत्री, दोलखाका पासाङ तामाङ तथा भारतका वासुमित्र आनन्द रहेका छन् ।

घर तथा कोठा खानतलासीका क्रममा एक हजार दरका ६२२ थान(६ लाख २२ हजार रुपैयाँ) बराबरका नक्कली नेपाली नोट, फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नक्कली नोट कटिङ गर्ने मेसिन, साथै ६ थान मोबाइल सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *