काठमाडौँ । प्रहरीको कुटपिटबाट घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन रक्षाको माग गरेका छन् ।
शनिबार सुकुम्बासी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका उनलाई प्रहरीले लछारपछार गरेर नियन्त्रणमा लिएको थियो । त्यसक्रममा घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचाररत उनले आफूलाई अहिलेसम्म पक्राउ पर्नुको कारण प्रहरीले जानकारी नदिएको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘शनिवार साँझ ५ बजे तिर १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मेरो उपचार भइरहेको छ । मलाई अहिलेसम्म मेरो पक्राउको कारण बारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानूनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन । के गृहमन्त्री वा प्रहरी प्रमुखज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो ? त्यसैले म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु ।’
