चितवन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।
वार्षिक करिब दुई लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिइन् । केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने बताइन् । त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने उनको भनाइ थियो ।
मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीका सेवासुविधा तथा स्थायी नियुक्तिसम्बन्धी समस्याबारे पनि जानकारी लिइन् । उनले प्रजनन केन्द्र तथा निकुञ्ज क्षेत्रमा रहेका हात्तीको पालनपोषण र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिइन् ।
हाल केन्द्रमा नौ वटा ढोई र सात वटा छावा छन् । यहाँका छावालाई हुर्काएर तालिम दिई विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ । निकुञ्जमा एउटा हात्तीको स्याहारका लागि तीन जनाको दरबन्दी छ । त्यसअघि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले केन्द्रको अवस्था तथा समस्याबारे मन्त्री चौधरीलाई जानकारी दिए ।
यसैगरी, मन्त्री चौधरीले २० असारमा भरतपुर महानगरपालिका–२३ मा जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेका अभिभावकसँग भेट गरेकी छन् ।
मन्त्री चौधरीले माडी नगरपालिका–१ सेरुवाका बाघको आक्रमणबाट घाइते भई अपाङ्ग भएका सूर्य महतो तथा सोही वडाका गैँडाको आक्रमणबाट घाइते भएका मंगले बोटेसँग पनि भेट गरेकी छन् ।
उनीहरूलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति पाँच लाखका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताइन् ।
