यी भाइको आँशु चाहिँ पक्कै लाग्छ !

काठमाडौँ । सुकुम्बासीहरुको विजोग देखेर केही दिनअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले सामाजिक संजालमा सडकमा बगिरहेका सुकुम्बासीका आशुले हामी सबैलाइ पोल्नुपर्छ भन्दै स्टाटस लेखिन् । उनले लेखिन्, ‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँशुले हामी सबैलाई पोल्नुपर्छ । सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीकासाथ यो कार्य अघि बढाइनुपथ्र्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो ।’
सरकारले सुकुम्बासी बस्ती हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई त्यहाँबाटसमेत हटाउन सूचना जारी गरेपछि धितालको यस्तो भनाई आएको हो । व्यवस्थापनको कुनै योजनाबिना सुकुम्बासी बस्ती हटाएर उनीहरुको बिजोग भएपछि सरकारको सर्वत्र आलोचना भइरहेको बेला रास्वपाभित्रैबाट समेत सरकारको कामप्रति आलोचना भएको हो ।

होल्डिङ सेन्टरबाटसमेत निकाल्न सूचना जारी गरेपछि त्यसैपनि बिलखबन्दमा परेका उनीहरु शुक्रबार राति वाग्मती नदीमा आएको बाढीले कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानका कारण झनै समस्यामा परेका छन् । बाढीका कारण त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुम्बासीको बिचल्ली भएको छ । राति डुंगासहित प्रहरीको टोली त्यहाँ पुगेर उनीहरुको उद्धार गरेको थियो । तर, धेरैको बन्दोबस्तीका सामान, अन्नपात र लुगा कपडा बाढीमै डुबेपछि उनीहरु झनै विचल्लीमा परेका छन् । होल्डिङ सेन्टर डुबेसँगै उनीहरू थप अन्योल र चिन्तामा छन् । बालबालिकाका पुस्तक, कपडा सबै डुबेपछि पठनपाठनबाटसमेत बञ्चित भएका छन् । आफूहरुलाई व्यवस्थापन गर्छु भनी सरकारले उठाएर यहाँ ल्याएर झनै विजोग बनाएको उनीहरुको गुनासो छ । उनीहरुले आफूहरुलाई तड्पाइ तड्पाइ सताइरहनु भन्दा मारिदिन भन्दै सरकारप्रति आक्रोशसमेत पोखेका छन् । होल्डिङ सेन्टरका बालबालिकाहरुको बिचल्ली भएको यो हृदयविदारक दृष्य हेर्नुस् त ? यो दृष्य हेर्दा सरकारलाई पोल्छ होला त ?

सुकुम्बासी मात्र होइन बालेन साह प्रधानमन्त्री बनेकोमा खुसी हुनेहरु अनि आशावादी हुनेहरु पछिल्ला दिनमा राज्यले गरिव, निसहाय नागरिक, राष्ट्रसेवकहमाथि गरेका व्यवहार सार्वजनिक भएपछि भने निराश हुन थालेका छन् । गणेश नेपालीको आत्मदाह ‘नयाँ’ हरु सत्तामा पुगेको ३ महिनापछि नै भएको छ। प्रेमप्रसाद आचार्यको आत्मदाह बहुदल आएको ३० वर्षपछि भएको थियो । अहिलेजस्तो एउटै पार्टीको झण्डै दुई तिहाईसहितको दुर्लभ बहुमत पनि पुरानाहरुसँग हुँदैनथ्यो। तर सरकारले किन नागरिकमा आशा जगाउन सकेन त ? प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा पुराना गृहमन्त्री संसदमा गएर बोल्न डराए र लजाए पक्कै । यस्तो घटना हुँदा उनीहरु पराजित महसुस गर्थे। अहिलेजस्तो गृहमन्त्रीहरु ‘विजयी मुद्रा’ मा संसदमा गएर राज्यले गरेको गल्तीका कारण भएको आत्मदाहप्रति प्रश्न उठाउने सांसदहरुलाई उल्टो गाली गर्ने हिम्मत गर्दैनथे ।

अनि होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था बुझ्न पुगेका युवालाई प्रहरीलाई लगाएर कुटपिट गरी पक्राउ गर्ने काम भइरहेका छन् । के लोकतन्त्रमा जनादेशको अर्थ स्वेच्छाचारिता हो र ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *