एनपीएलको अक्सन भोलि, १ सय ५५ खेलाडी छनोट

काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सनमा सहभागी हुने १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिताका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये छनोट प्रक्रियापछि १५५ खेलाडीलाई अक्सनका लागि योग्य ठहर गरिएको हो । अक्सन सोमबार काठमाडौंमा आयोजना हुनेछ ।

अक्सन सूचीमा समावेश खेलाडीमध्ये क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन् । अक्सनमार्फत आठवटा फ्रेन्चाइज टोलीले कुल ५२ नेपाली खेलाडी अनुबन्ध गर्नेछन् ।

क्यानले यस संस्करणदेखि प्रत्येक टोलीमा दुई अतिरिक्त नेपाली खेलाडी समावेश गर्ने व्यवस्था गरेको छ । मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीसहित प्रत्येक फ्रेन्चाइजमा अब कुल १४ नेपाली खेलाडी रहनेछन् ।

अक्सनअघि टोलीहरूको बाँकी बजेट (पर्स) भने फरक–फरक रहेको छ। सबैभन्दा बढी जनकपुर बोल्ट्ससँग रु ६६ लाख २५ हजार बाँकी छ भने विराटनगर किङ्ससँग रु ५१ लाख ५० हजार र लुम्बिनी लायन्ससँग रु ४९ लाख २५ हजार रहेको छ ।

त्यस्तै पोखरा एभेन्जर्ससँग रु ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग रु ४२ लाख ५० हजार, कर्णाली याक्स र चितवन राइनोजसँग समान रु ४२ लाख तथा काठमान्डु गोर्खाजसँग रु ३४ लाख बजेट बाँकी रहेको क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *