काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
छविसपाथिभेराका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला र दुर्गाथलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेलसहित ९ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
बाँठपाली मन्दिर निर्माण योजनाका लागि निकासा भएको रकम हिनामिना भएको भन्दै आयोगमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलेमतोमा गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई हानि पुर्याएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


