काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले अब कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत न्यौपानेले अबदेखि कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले आफ्नो निर्णय व्यक्तिगत रहेको उल्लेख गर्दै जनताप्रतिको सेवा र जिम्मेवारीबाट भने पछि नहट्ने स्पष्ट पारेका छन् । सांसदका रूपमा आफूले पाएको जनमतको सम्मान गर्दै तनहुँ–२ का नागरिकको विकास, सुशासन र जनहितका मुद्दामा निरन्तर सक्रिय रहने उनको प्रतिबद्धता छ।
रास्वपाको हालै सम्पन्न महाधिवेशनमा तनहुँबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रीराम न्यौपानेसहित राजु दाहाल, विकास सिग्देल र प्रकाश थापा पनि पराजित भएका छन् ।
