काठमाडौं । फरवार्ड इर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुगेको छ । मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३-२ गोलले पराजित गर्दै नर्वे अन्तिम ३२ मा पुगेको हो ।
न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा नर्वेलाई जित दिलाउन हालान्डले दुई गोल गर्दा मार्कुस होल्म्ग्रेन पेदेर्सेनले समान एक गोल गरे । सेनेगलको लागि इस्मैला सारले दुई गोल फर्काए । खेलको ४३ औँ मिनेटमा पेडेर्सनले गोल गर्दै नर्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । ४८ औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए ।
५३ औँ मिनेटमा मानेको पासमा सारले गोल गर्दै सेनेगललाई २-१ गोलको अग्रता दिलाएका थिए । ५८ औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ३-१ गोलको अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सारले व्यक्तिगत दोस्रो गोल गर्दै सेनेगललाई ३-२ गोलको स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेनन् ।
जितसँगै नर्वे दुई खेलबाट ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट अंक विहीन सेनेगल तेस्रो स्थानमा रहेको छ ।
